काठमाडौं, २७ असार । कञ्चनपुरको जनहित महाकाली सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार जितेको छ ।
योसँगै सरकारबाट राष्ट्रिय पुरस्कार पाउने जनहित सामुदायिक वन सुदूरपश्चिमकै पहिलो सामुदायिक वन समेत बनेको छ ।
सोमबार वन मन्त्रालयले राजधानीमा एक समारोहका बीच वन तथा वनजन्तु संरक्षणमा विशेष योगदान पुगाएको भन्दै कञ्चनपुरस्थित कृष्णपुर २ वाणी खल्डागोठ क्षेत्रको जनहित महाकाली सामुदायिक वनसहित देशभरका चारवटा सामुदायिक वनलाई पुरस्कृत गरेको हो ।
कञ्चनपुरको जनहित महाकाली सामुदायिक वन देशभरका ७५ वटै जिल्लाबाट पुरस्कारका लागि दोस्रो नम्बरमा छनोट भएको थियो ।

राजधानीको बबरमहलमा आयोजित समारोहमा वनमन्त्रीले अग्नी सापकोटाले जनहित महाकाली सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीलाई रु ७५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
त्यसअवसरमा वनमन्त्री सापकोटाले पुरस्कृत भएका सामुदायिक वनलाई बधाई दिँदै संरक्षणमा अझै जोड दिन आग्रह गरे । पुरस्कार ग्रहण गर्दै जनहित महाकाली सामुदायिक वनका अध्यक्ष चौधरीले पुरस्कार पाउँदा खुसी लागेको र आगामी दिनमा अझै संरक्षणमा जोड दिने हौसला मिलेको बताए ।
फोटोः महेशदत्त जोशीबाट ।













प्रतिक्रिया