काठमाडौँ, २२ असार । सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती सेवालाई समावेशी बनाउन प्रयास भइरहेको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिने क्रममा उहाँले निजामती सेवालाई चुस्त बनाउन सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्री शर्माले प्रशासन सुधारका लागि जिल्लास्तरमा सार्वजनिक सुुनुवाई गरी गुनासो सुनिएको, स्थानीय भाषामा नागरिक बडापत्र राख्न प्रारम्भ गरिएको, सरुवा बढुवासम्बन्धी मापदण्डलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।
उहाँले निजामती सेवाभित्र देखिएका समस्या सम्बोधन गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँँदै डिपी, पिआर लिएका कर्मचारीलाई कारबाही गरिएको जानकारी दिनुभयो ।
एक प्रदेश एक पशु अस्पताल स्थापना : मन्त्री मानवी
पशुपक्षी विकासमन्त्री शान्ता मानवीले मन्त्रालयले राष्ट्रिय पशुपक्षी नीति बनाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिँदै नीतिमा नेपाललाई मासु, फूल र दूधमा आत्मनिर्भर हुने लक्ष्य लिएको बताउनुभयो ।
उहाँले गाईभैँसी स्रोत केन्द्र विस्तार गरी सातवटा बनाउन लागिएको, दुग्ध विकास सस्थानको क्षमता विस्तार र ४५ जिल्लामा बाख्रापालन, सबै जिल्लामा कुखुरापालन कार्यक्रम विस्तार समेत गर्न लागिएको बताउनुभयो । उहाँले प्रत्येक प्रदेशमा पशु अस्पताल स्थापना गर्न लागिएको स्पष्ट पार्नुभयो ।
मन्त्री मानवीको सो जवाफमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले पूरक प्रश्न गर्नुभएको थियो । रासस












प्रतिक्रिया