२६ कार्तिक २०८३, बिहिबार

तराईको समस्या समाधान गर्न सरकार गम्भीर रुपमा लाग्नुपर्छ: खिलराज रेग्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khilraj-Regmi

त्रिशूली (नुवाकोट), २१ असार । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अहिलेको समस्या समाधान गर्दै संविधान कार्यान्वयन गराउन अघि बढ्नुपर्ने बताउनुभएको छ ।

यहाँका शक्तिपीठहरुमा पूजाअर्चना गर्न आउनुभएका रेग्मीले संविधान कार्यान्वयनका लागि सबैले सबैलाई स्वीकार्य हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “संविधान कार्यान्वयनमा सबैलाई स्वीकार्य हुने वातावरण बनाउने गरी अगाडि बढ्नुपर्छ, अलमलिएर होइन कि राजनीतिलाई व्यवस्थापन गरेर समृद्धि र विकासप्रति लम्कनुपर्छ” – रेग्मीले भन्नुभयो ।

पूर्वप्रधानन्यायाधीश रेग्मीले आगामी २०७४ साल माघ ७ गतेभित्र सबै प्रक्रिया पूरा भएमा देशले गति लिने बताउँदै विकास र समृद्धिको मार्ग अवलम्बन गर्दै भूकम्पले भत्काएका सम्पदा पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले तराईको समस्या समाधान गर्न सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताउनुभयो । तराई समस्या समाधानका लागि सरकारमा जुन गम्भीरता हुनुपर्ने हो त्यो नभएकाले निकास नपाएको उहाँको भनाइ छ । “संवाद, छलफलमा राज्यपक्ष लाग्नुपर्छ । उहाँ(मधेसकेन्द्रित नेता) हरुले पनि व्यावहारिक र उपयोगी मार्ग खोज्नुपर्छ । सबैले मिलेर निकासमा जाने हो भने समाधानमा नपुग्ने कुरै छैन”, रेग्मीले भन्नुभयो ।

धार्मिक अभियानकर्मी धर्मराज बरालले भूकम्पले क्षतिग्रस्त यहाँका सम्पदाहरुको पुनःनिर्माण छिटो गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने कुरा बताउनुभयो ।

रेग्मीले यहाँका भैरवी मन्दिर र देवीघाटको जालपादेवीमा पूजाअर्चना गर्नुभएको थियो । रासस