गोरखा, २० असार । अविरल वर्षापछि झरेको पहिरोले गोरखाको गुम्दास्थित माग्लुङखोला लघुजलविद्युत् आयोजना फेरि अवरुद्ध भएको छ ।
गत वर्ष वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको लघुजलविद्युत् आयोजना स्थानीयवासीले मर्मत गरेको एक साता नबित्दै पहिरो झरेपछि आजदेखि अवरुद्ध भएको स्थानीयवासी भीमप्रसाद गुरुङले जानकारी दिनुभयो ।
पच्चीस किलोवाट क्षमताको सो आयोजना अवरुद्ध भएपछि गुम्दाको ६, ७, ८ र ९ वडाका २६० टहराका भूकम्पपीडितले रातमा बत्ती बाल्न पाएका छैनन् भने कुटानी, पिसानी मिल पनि सञ्चालन नहुँदा स्थानीयवासीले दुःख पाएका छन् ।
यस्तै, टेलिफोनका टावर सञ्चालनमा पनि समस्या भएको छ । सो आयोजना मर्मतमा रु १७ लाख खर्च भएको थियो । अहिले पहिरो पन्छाएर आयोजना पुनः सञ्चालन गर्न बजेट अभाव भएको गुरुङले बताउनुभयो । रासस
















प्रतिक्रिया