
काठमाडौं, १६ असार । राजधानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–१६ वालाजु गंगाहल नजिक ना.१ ख ६६६ नम्बरको ट्रकले ग.५ प ९८२३ नम्बरको मोटरसाइकललाई बिहिबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका पुरुषको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक चालक फरार रहेकोले खोजी भइरहेको छ ।
यसैगरी सिराहाको धनगढीमाई नगरपालिका–९ स्थित लोकमार्गमा ना.५ ख ३४६६ नम्बरको ट्रकले स.२ प ८९५१ नम्बरको मोटरसाइकललाई बिहिबार ठक्कर दिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सर्लाही चन्द्रगञ्ज बस्ने ३२ वर्षीय सुशिलसिंह दनुवारको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सोही विषयलाई लिएर स्थानियबासीले बाटो अवरोध गरेकोमा प्रहरीले सम्झाई बुझाई अवरोध खुलाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया