काठमाडौं, १६ असार । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार फेरि आतंकवादी आत्मघाती हमला भएको छ ।
विहीबार दिउँसो भएको सो हमलामा कम्तीमा ४० जना मारिएको बीबीसीले जनाएको छ ।
समाचार अनुसार हमला अफगान प्रहरीको गाडीमा भएको थियो । मारिनेमा अधिकांश भर्खर तालिम सकेका प्रहरीहरु रहेका छन् । काबुलबाट पश्चिममा रहेको पागमान शहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा काला ए हैदर खान गाउँमा दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएको समाचारमा जनाइएको छ ।
यो आक्रमणको जिम्मा त्यहाँको आतंकवादी संगठन तालिबानले लिएको छ ।
पघमन डिस्ट्रिक्टका गभर्नर हाजी मोहम्मद मुसा खानले हमलामा सय भन्दा बढी मानिस घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन् ।
यसअघि अफगानिस्तानको काबुलमा आत्मघाती हमलामा परी १३ नेपाली मारिएका थिए भने ५ जना घाइते छन् ।
















प्रतिक्रिया