काठमाडौं, १३ असार । लागुऔषध नियन्त्रण ब्युरोले ३५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले काठमाडौं जोरपाटी बस्ने बारा डुमरवना गाबिस–७ का २५ वर्षीय साइमन तामाङ र काठमाडौं कपन डेरा गरी बस्ने नुवाकोट बुमङताङ गाबिस–४ का ३७ वर्षीय धनबहादुर तामाङलाई नेपालबाट भारत हुँदै होल्याण्डसम्म पठाउने तयारीमा राखिएको चरेससहित बुढानिलकण्ठ नगरपालिका–१४ मेलमिलाप टोलबाट पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
उक्त चरेशमध्ये ३० केजी २ वटा झोलामा इँटा आकारको स्ल्याब बनाई लुकाएको र ५ केजी चरेस बुद्धको प्रार्थना किताबमा लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको थियो ।
गत बैशाख १० गते पक्राउ परेका पूर्णबहादुर तामाङका भाई नाता पर्ने साइमनलाई पूर्णबहादुरले ३ बर्ष अगाडि लागूऔषध ओसारपसारको लागि थाईल्याण्ड पठाएको, साइमनले लागूऔषधका मुख्य कारोवारी धर्म पाख्रिन तामाङले भने बमोजिम लागूऔषध कारोवारमा संलग्न रही प्रत्येक पटक १०–१५ हजार थाई भाट प्राप्त गर्ने गरेको र हालसम्म १९ पटक लागूऔषध एमफेटामीनको ओसारपसार गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख डीआईजी जयबहादुर चन्दले बताए ।
उनका अनुसार साइमनले यसअघि पनि ५ केजी चरेश काँकडभिट्टाको नाका हुँदै भारतको सिलुगुडी पुर्याएको समेत खुल्न आएको छ ।
साथै सन् २०११ देखि अवैध लागूऔषध चरेशको कारोवारमा संलग्न धनबहादुरले काठमाडौं दिल्ली हुँदै होल्याण्डमा २ पटक तथा हङकङमा ३ पटक चरेशको कारोवार गरिसकेको तथा उनले हङकङमा पठाएको चरेश प्राप्त गर्ने साहिद खान तथा ब्यूरोले गत जेठ १२ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हङकङमा बस्ने पाकिस्तानी नागरिक मोहमद वाहिद खान एकै व्यक्ति भएको अनुसन्धानबाट खुल्न आएको छ ।
धनबहादुरले चरेश लुकाउन प्रयोग गरेको बुद्धको प्रार्थना किताब आफैले भारतबाट ल्याउने गरेको डीआईजी चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए ।













प्रतिक्रिया