गोरखा, १३ असार । गाँजासहित गोरखाको बुङ्कोट गाविसबाट पक्राउ परेका नौजना युवाविरुद्ध प्रहरीले अवैध लागुऔषध ओसारपसार ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
छओटा मोटरसाइकलमा सवार युवाका साथबाट प्रहरीले ५७० ग्राम गाँजा बरामद गरेको थियो । शनिबार साँझ प्रहरी चौकी बुङ्कोटका प्रहरीले गाँजासहित नियन्त्रणमा लिएका युवालाई आइतबार मुद्दा दर्ता गरिएको हो ।
पोखरामा विभिन्न व्यवसाय गर्दै आएका दिनेश गुरुङ, सागर गुरुङ, सबिन गुरुङ, राधेश्याम चौधरी, अनिश श्रेष्ठ, मनोज श्रेष्ठलगायत युवालाई गाँजासहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । ती युवाले साथीभाइलाई बिक्री गर्न र आफूले सेवन गर्न गाँजा ल्याएको प्रहरीलाई जानकारी दिनुभयो ।
यसैगरी, तीन तोला सुन र ५० हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले गोरखाको छोप्राक–६ का मनु परियारलाई पक्राउ गरेको छ । सोही गाउँकी गोमा बरामको घरबाट गत चैत २४ गते सुन र नगद चोरी गर्न संलग्न रहेको भन्दै प्रहरीले आइतबार साँझ लुकीछिपी बसेको अवस्थामा घरबाटै उनलाई पक्राउ गरेको हो । परियारविरुद्ध चोरी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको प्रनाउ वीरेन्द्र थापाले बताउनुभयो । रासस












प्रतिक्रिया