सेन्ट पिटर्सबर्ग (रसिया), ९ असार । रसिया र चीन आपसमा नजिकका छिमेकी र असल मित्र राष्ट्र भएको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।
उहाँले भन्नभयो– यी दुई देश नजिकका छिमेकी मात्र नभएर विभिन्न क्षेत्रमा विगत लामो समयदेखि आपसमा सहयोग पनि गर्दै आएका देश हुन् ।
रसिया र चीनका बीचमा उच्चस्तरीय सम्बन्धका साथै विविध क्षेत्रको सहयोगमा पनि साझेदारिता रहेको उहाँले बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वासँगको अन्तरवार्तामा उहाँले भन्नुभयो– हामी एक आपसमा निकै नै नजिकबाट एक अर्काको चाहना बुझ्ने गर्छौ र हाम्रा चाहनाका बारेमा पनि हामी आदानप्रदान गर्नेगर्छौ ।
उहाँले सिन्ह्वा समाचार समितिसँगको अन्तरवार्ताका क्रममा सो धारणा राख्नुभएको हो । सिन्ह्वाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा उहाँको अन्तरवार्ता लिएको थियो ।
रसियाली राष्ट्रपति पुटिन आगामी शनिबार चीनको भ्रमणमा जान लाग्नुभएको छ । सोही अन्तरवार्ताको पूर्वसन्ध्यामा सिन्ह्वाले सो समाचार लिएको बताइएको छ ।
अन्तरवार्ताका क्रममा उहाँले चीन र रसियाबीचको सम्बन्ध पछिल्ला वर्षहरुमा अभूतपूर्व रुपमा विकसित भइरहेको छ र यसका कारण दुई देशले पारस्परिक विश्वासका आधारमा काम गर्न सकिरहेका पनि स्पष्ट गर्नुभयो ।
पछिल्ला वर्षहरुमा यी दुई देशबीचमा विकसित भएको घनिष्ठ सम्बन्धले गर्दा द्विपक्षीय सम्बन्धका लागि एउटा ठोस आधार बन्न पुगेको धारणा पनि सो अवसरमा उहाँले राख्नुभएको छ ।
यद्यपि कतिपय विषयमा रसिया र चीन पनि ठोस निर्णय र निष्कर्षमा पुग्न सक्दैनन् तर पनि आपसी सम्बन्ध र समझदारीका माध्यमबाट सबै प्रकारका समस्याको समाधानका लागि हामी तयार हुने गर्दछौँ– उहाँले भन्न्नुभयो । रासस/सिन्ह्वा
















प्रतिक्रिया