९ कार्तिक २०८३, सोमबार

नेपाली कसरी पुग्छन् अफगानिस्तान ?

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabulकाठमाडौं, ७ असार । सन् २००४ मा १२ नेपालीले इराकमा अनाहकमा ज्यान गुमाउनु परेको थियो, त्यसको ठीक १२ वर्षपछि अफगानिस्तानको राजधानी काबुलमा तालिवानी विद्रोहीको बम आक्रमणबाट १२ नेपालीको मृत्यु भएको छ ।

सोमबार बिहान नेपाली सुरक्षागार्ड सवार मिनिबसमा भएको आतंकवादी हमलामा १४ जनाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मृतकमध्ये १२ जना नेपालीको पुष्टि भएको छ भने सातजना घाइते भएका छन् । ‘१२ जना नेपाली सुरक्षागार्डको मृत्यु भएको छ, घाइतेहरू खतरामुक्त हुनुहुन्छ,’ अफगानिस्तानसमेत हेर्ने पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूत तीर्थ अर्यालले सोमबार साँझ टेलिफोनमा भने ।

मृत्यु भएका दुईजना नेपालीजस्तै अनुहार रहे पनि भारतीय नागरिक रहेको अनुमान छ । तर, पुष्टि हुन सकेको छैन । मारिएका र घाइते नेपाली सुरक्षागार्ड काबुलको वाजिर अकबर खान स्ट्रिट नम्बर १५ स्थित क्यानेडियन दूतावासमा कार्यरत थिए ।

१. वैधानिक बाटो

नेपाली कामदार अफगानिस्तान जाने वैधानिक बाटो पनि छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाएर अफगानिस्तान जानेको संख्या तीन हजार तीन सय ५३ छ । पूर्वश्रम स्वीकृति लिनेको संख्या भने पाँच हजार नौ सय ८४ छ । अफगानिस्तानमा सेक्युरिटी गार्डमा गैरकानुनी बाटोबाट आठ हजारभन्दा बढी नेपाली पुगेको अनुमान छ । संयुक्त राष्ट्रसंघअन्तर्गतका कार्यालय र अन्तर्राष्ट्रिय कूटनीतिक नियोगमा सेक्युरिटी गार्डको मागपत्र ल्याउने म्यानपावर कम्पनीले श्रम स्वीकृति पाउने गरेका छन् । विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले खतरा न्यून भएका क्षेत्रमा मात्र कामदारलाई श्रम स्वीकृति दिइने गरेको बताए । उनले भने, ‘ग्रिन जोनका लागि श्रम स्वीकृति दिन्छौँ, खतरा हुने स्थानलाई रेड जोनमा राखेर स्वीकृति दिँदैनौँ ।’ श्रमविज्ञ गणेश गुरुङले भने असुरिक्षत मुलुक अफगानिस्तानका लागि श्रम स्वीकृति दिनु नागरिकको जीवनसँग खेलबाड भएको बताए । ‘सरकारले नयाँ श्रम गन्तव्य खोज्न पहल गर्ने हो भने युरोप र अमेरिकामा नै नेपाली कामदार पठाउन सक्ने अवस्था छ,’ उनले भने, ‘तर, सरकार अफगानिस्तानमा पठाइरहेको छ ।’

२. गैरकानुनी बाटो

अफगानिस्तानमा गैरकानुनी बाटोको रूपमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबई र भारतको राजधानी दिल्लीमार्फत कामदार जाने गर्छन् । यसमध्ये दुबईबाट जाने कामदार तुलनात्मक रूपमा सुरक्षित क्षेत्रमा सेक्युरिटी गार्डको काम पाउने भए पनि दिल्लीबाट दलालले पठाउने अधिकांश असुरक्षित स्थानमा काम पाउँछन् । केही नेपाली म्यानपावर कम्पनीले दुबईमा सेक्युरिटी गार्डका लागि श्रम स्वीकृति लिएर उनीहरुलाई अफगानिस्तान पठाउने गरिन्छ । विभाग कर्मचारीसगँ सेटिङ मिलाएर म्यानपावर कम्पनीले दुबईमार्फत अफगानिस्तान पुर्‍याउने विभागस्रोतले जनायो । यसरी दुबईमा गएका कामदारलाई क्याम्प नै राखेर  जम्मा पारी राखिन्छ र उनीहरुलाई केही आधारभूत तालिम दिएर अफगानिस्तानमा पठाउने गरिन्छ । एक जना म्यानपावर व्यवसायीले दिएको जानकारीअनुसार संयुक्त राष्ट्र संघिय निकाय र अन्य अन्तर्राष्ट्रिय कुटनितिक निकायवाहेका कार्यालयमा यसरी दुबईबाट गएकालाई सेक्युरिटी गार्डमा काम दिइन्छ । यिनीहरुले अत्याधुनिक हतियार बोक्न नपाउने भएकाले जोखिमपूर्ण तरिकाले रोजगार गर्नुपर्ने वाध्यता छ ।