जेरुसेलम, २ असार । इजरायलका प्रतिपक्षी दलका नेताद्वारा अमेरिकाले इजरायललाई थप सैन्य सहयोग नदिने जनाएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको चर्को आलोचना गरेका छन् ।
इजरायली प्रतिपक्षी दलका नेता इज्याक हेर्जोगले ह्वाइट हाउसले मङ्गलबार अमेरिकी कँग्रेसलाई एक पत्र पठाउँदै इजरायललाई क्षेप्यास्त्र प्रतिरक्षा कार्यक्रमका लागि थप चार अर्ब पाँच करोड ५० लाख अमेरिकी डलर नदिने बताएको आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।
अमेरिका र इजरायली सरकार यहुदी मुलुकका लागि थप १० वर्षका लागि प्रतिरक्षा सहायता प्याकेज गर्न सुरु गरेको कुराकानी केही महिनादेखि बन्द रहेको छ ।
इजरायलले अमेरिकी सैन्य सहयोगअन्तर्गत प्रतिवर्ष तीन अर्ब अमेरिकी डलर ‘आइरन डोम मिसाइल’ सुरक्षा प्रणालीलगायत अन्य कार्यका लागि सहयोग गर्दै आएको छ ।
अमेरिकी सैन्य सहयोगका लागि यसअघि गरेको सम्झौता सन् २०१८ मा सकिन लागेकाले थप १० वर्षको सम्झौता गर्न र नयाँ सम्झौतामा थप चार अर्ब पाँच करोड ५० लाख ढाउन इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आग्रह गर्नुभएको थियो ।
नयाँ सम्झौता सम्बन्धमा प्रधानमन्त्रीले अहमवादी भूमिका खेल्दा ठूलो मात्रामा आउनुपर्ने सुरक्षा सहयोग गुमाएको आफ्नो फेसबुक पेजमा हेर्जोगले बताउनुभएको छ ।
आगामी युद्धमा हवाई सुरक्षा प्रणालीविना लड्नुपर्ने अवस्थालाई मध्यनजर राख्दै हामीले नेतन्याहूले इजरायलको सुरक्षाका लागि कसरी निर्णय लिएका छन् छानबिन गर्नु आवश्यक छ, उहाँले बताउनुभयो ।
जवाफका लागि प्रधानमन्त्रीद्वारा जारी एक विज्ञप्तिमा नेतन्याहूले सुरक्षा सहयोगमा कटौती नहुने तर अमेरिकी संसद (कँग्रेस) र ह्वाइट हाउसबीच सुरक्षा सहायताको आकारका बारेमा छलफल भएको बताउनुभयो ।
क्षेप्यास्त्र प्रतिरोधी सुरक्षा सहयोग अहिलेभन्दा बढ्ने पक्का भए पनि कुन मात्रामा बढ्ने भन्नेबारे अमेरिकाले छलफल चलाएको नेतान्याहूको दाबी छ । – एएफपी















प्रतिक्रिया