
– नरेश केसी
मर्चवार, जेठ ३१ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार वत्ति मुनिको अध्यारो क्षेत्र जस्तै छ । पुर्व प्रधानमन्त्री स्व. डा. केआई सिंह देखी लिएर कयौं मन्त्री र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्तित्वहरुको ऊर्वर थलो मर्चवार खाद्यान्न र तरकारी उत्पादनको दृष्टिले नेपालकै नमूना क्षेत्र हो । व्यक्ति र व्यक्तित्व निर्माणमा अहं भूमिका खेलेको समथर भुभागमा फैलिएको मर्चवारका जनता अहिले पनि शौचालयको प्रयोग गर्न हिचकिचार्उछन् ।
मर्चवारकै नाममा देशमा अहिले पनि दर्जनौ एनजिओ आइएनजिओ सन्चालित छन् तर पनि यहां समुचित तवरले चेतनाको अभिवृद्धि हुन सकेको छैन । तथापी मर्चवारको प्रवेशद्वार गोनाहा भने बल्लतल्ल खुल्ला दिशामुक्त तथा पूर्णखोप युक्त गाविसको रुपमा घोषीत भएको छ । गोनाहालाई खुल्ला दिशामुक्त तथा पुर्णखोपयुक्त गाविस घोषणा गर्न आइतबार स्थानिय शिवपुर प्रा.वि गोनाहामा विशाल सभाको आयोजना भयो । सभालाई सम्बोधन गर्दै पुर्व शिक्षामन्त्री तथा सोही क्षेत्रबाट निर्वाचित सांसद सर्वेन्द्रनाथ शुक्लाले मर्चवारको प्रवेशद्वार गोनाहा खुल्ला दिशामुक्त र पुर्ण खोपयुक्त भएपछि अब समग्र मर्चवार निरोगी हुने तर्क गरे । तमलोपाका महामन्त्री समेत रहेका पुर्व मन्त्री शुक्लाले व्यंग्यात्मक शैलीमा भने – अब हाम्रो गाऊ घरमा रोगको कारखाना घट्ने भए । मैदान जानेहरुको भीड हट्ने भए । शौचालयको प्रयोगले सबै निरोगी र स्वस्थ्य हुने भए ।

सांसद शुक्लाले युरोपमा जसको शौचालय सफा हुन्छ त्यसलाई सभ्य नागरिक भनिने उदाहरण दिदै मर्चवारले पनि अब नमूना पेश गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथी सांसद जन्नुतुन निशाले मुश्लिमहरुको महानपर्व रोजा चलिरहेको बेला शुद्धा शुद्धिको काम गर्न पाएकोमो खुसी लागेको जनाउदैं अब शौचालयको प्रयोग गरेर सभ्य नागरिकको परिचय दिन सबै नागरिकलाई आग्रह गरिन् । पुर्व मन्त्री तथा सांसद ओमप्रकाश यादव गुलजारीले वत्तिमुनिको अध्यारो क्षेत्रको रुपमा परिचीत गराइएको मर्चवारलाई सबै प्रकारले उज्जयालो बनाउने अभियान सफल भइरहेको जनाए । सद्भावना पाटि (महतो समुह) का केन्द्रिय उपाध्यक्ष समेत रहेका यादवले सरसफाईयुक्त मर्चवार बनाउने काममा सबै जुट्ने विश्वास व्यक्त गर्दै भने “अब हामी मैदान जानेछैनौ। चर्पी बनाएर पनि मैदान जानु मुर्खता हो । जथाभावी शौच गर्नाले रोग बढ्छ । जसले गर्दा हामी रोगी हुन्छौ । ”
पुर्व कृर्षी तथा सहकारी मन्त्री यादवले जसरी मर्चवार कृर्षी उत्पादन, तरकारी उत्पादनमा अब्बल छ त्यसैगरी चेतना र सरसफाईका दृष्टिले पनि अग्रपंक्तिमा आउने विश्वास व्यक्त गरे ।

सो गाविसमा खानेपानी तथा सरसफाई स्वच्छता अभियान सन्चालन गर्दा ०६८। ०६९ सालमा १ हजार ९ सय ५९ घरधुरी मध्ये ८० घरमा मात्रै शौचालय रहेका थिए । पछि गाविस सचिव मिनप्रसाद भट्टराइको संयोजकत्वमा धुव्र नारायण चौधरी सहसंयोजक रहेको एउटा समिती बन्यो । जसको सदस्यहरुमा जोखु कुर्मि, जयप्रकाश यादव, शिष कुमारी चौधरी, मथुरा प्रसाद कुर्मि, अजय सिंह यादव, हरिराम लोध, जोगेन्द्र नाथ तिवारी, हृदयराज हरिजन, केशव प्रसाद ढकाल थिए । यसैगरी जिविस रुपन्देही अन्तरगत पश्चिम नेपाल खानेपानी सरसफाई परियोजनाका वास सहजकर्ता भगवति राउत र फिल्ड संयोजक शेषराम यादवको सक्रियतामा गाविस स्तरीय राजनैतिक दल,विद्यालय, संघसंस्था र वडा टोल स्तरीय समिती बनाई सबैको सहकार्यममा सो गाविस खुल्ला दिशामुक्त बन्न सफल भएको गाविस सचिव भट्टराइले जनाए ।

गाविसको अभियानमा गोनाहा ४ का धुव्र नारायण चौधरीले ४२ थान प्यान सेट, वडा नम्बर ६ का सन्तकुमार यादवले १४ बोरा सिमेन्ट र १४ थान प्यान सिट र १ थान पाइप, सोही वडाका अजय सिंह यादवले १५ थान प्यान सिट, सुकइ मल्लाहले २ थान प्यान सिट, अवधराज यादवले १५ थान प्यान सिट, नया जिवनकोलागी हातेमालो संस्था बुटवलले ५३ थान प्यान सिट र केशब ढकाल गोनाहा हेल्थ पोस्ट इन्चार्जबाट २ हजार ५ सय सहयोग भएको थियो ।
गाविस सचिव मिनप्रसाद भट्टराइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अबधराज यादव , भगवति राउत, रवि यादव, अजयसिंह यादव, सुकइ मल्लाह, धुव्रनारायण चौधरी, सन्तकुमार यादव, शेषराम यादव लगायतलाई खादा र कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी स्वयंसेविकाहरु, सहयोगी तथा समाजसेवी एवं अभियानका सक्रिय व्यक्तित्वलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा तमलोपाका जिल्ला प्रवक्ता मोहमद नइम, हरिश्चन्द्र यादव, अन्य दलका प्रतिनिधी, विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधीको आतिथ्यता रहेको थियो ।
गोनाहाको परिचय
“खुल्ला दिशामुक्त गोनहाको शान, स्वच्छ वातवरण हाम्रो अभियान ” भन्ने मुल नाराका साथ आइतबार दुई जना पुर्व मन्त्री र एक जना सांसद तथा विभिन्न कार्यलय एवं संघसंस्थाका प्रतिनिधीबिच बडो तामझामले खुल्ला दिशामुक्त एवं पुर्ण खोपयुक्त भएको गोनाहा गाविस मर्चवारको नाका हो । ९५ प्रतिशत कृर्षीमा निर्भर २ हजार ५९ घरधुरी रहेको यस गाविसमा १५ हजार ४ सय ४७ जनसंख्या रहेको छ । एक उच्च मावि, एक निमावि, एक प्रा.वि, तीन निजी विद्यालय र ६ मदरसा रहेको यस गाविसमा ३ स्वास्थ्य चौकी, एक हुलाक, एक सामुदायीक मेलमिलाप केन्द्र र पांच सहकारी रहेको छन् । एक इलाका प्रहरी कार्यलय, ७ युवा क्लब, २ महिला तथा आमा समूह, दुई नागरिक जनचेतना केन्द्र र नयां जीवनकोलागी हातेमालो संस्थाद्धारा गठीत १९ वटा कृषक समूह रहेका छन् ।

यो गाविसको पूर्वमा रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवा , मर्यादपुर गाविसको केही भाग र भारतको सिमना, पश्चिममा कम्हरीया, उत्तरमा मैनिहीया र हाटिबनगाइ तथा दक्षिणमा मर्यादपुर र सक्रोन पकडी गाविस पर्दछ । छिमेकी मुलकु भारतसंग सीमा जोडिएको यो गाविसको मुख्य आम्दानीको स्रोत वडा नम्बर ६ को सिद्धार्थ नाका र वडा नम्बर ८ को गोइन्का नाकाबाट उठ्ने पटके कर हो । यहि गाविसमा ठूला ठूला उद्योग धन्दाहरु सन्चालित छन् । ब्राहमण क्षेत्री, यादव, थारु, केवट, मल्लाह, हरिजन, लोध, कुर्मि, मुसलमान, वरइ, पासी, धोवी, कोहार, तेली, मुराउ, मगर, गुरुंग, भर, कहार जस्ता जातजातिको बसोबास रहेको छ । परापर्वकालदेखी कृर्षी पेशा अंगाल्दै आएका यहांका जनताले नेता धेरै पाएता पनि अपेक्षाकृत विकास भने अझै सम्म पाउन सकेका छैनन । कार्यक्रममा मर्चवारको प्रसिद्ध विराह गीत कलाकारले प्रस्तुत गरेका थिए । गीत मार्फत पनि उनीहरुले सचेतनाको लागी आह्वान गरेका थिए ।












प्रतिक्रिया