काठमाडौं, ३० जेठ । कांग्रेस निकट नेपाली विद्यार्थी संघको ११औँ महाधिवेशन झण्डै एकदशकपछि राजधानीमा हुने भएको छ ।
ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा नेविसंघको केन्द्रीय समिति बैठक बस्दै आएको छ । बैठकमा छिटो महाधिवेशन गर्न नेतृत्वलाई दबाब पर्दै आएको छ ।
नेविसंघका शीर्ष नेतृत्वबीच साउन २३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन गर्ने निश्चित गरेको प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो । नेविसंघले तीन दिनका लागि हल बुक गरेको छ ।
‘११औँ राष्ट्रिय महाधिवेशन यही साउन २३ गते भृकुटीमण्डपमा उद्घाटन गर्ने निश्चित भएको छ’, उहाँले भन्नुभयो, ‘बन्दसत्र साउन २४ गते भृकुटीमण्डपकै सभाहलमा हुनेछ । २५ गते भोटिङ हुनेछ ।’
महाधिवेशनका लागि नेविसंघले २ दिनका लागि १० हजारका दर बुक गरिएको लामिछानेले उल्लेख गर्नुभयो ।
महाधिवेशनमा ३४ सयको हाराहारीमा प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशनको मितिको ठोस निर्णय सोमबार बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।
नेविसंघको महाधिवेशन झण्डै दश वर्षदेखि हुन सकेको छैन । महाधिवेशन हुन नसक्दा नेविसंघका साथै कांग्रेस नेतृत्वको विरोध हुँदै आएको छ ।













प्रतिक्रिया