
काठमाडौं, ३० जेठ । काठमाडौं फोटोग्राफर संघको आयोजनामा राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा बिबहामा खिचिएको फोटोहरुको प्रदर्शनी आइतबारबाट सुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन प्रतियोगिताका निर्णायक मण्डलका सदस्य राजभाइ सुवाल र अमरेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
क्यानन केपिए वेडिङ्ग फोटो अवार्ड २०१६ को प्रतिस्पर्धामा उपलब्ध ६ सय भन्दा बढी फोटोबाट छानिएका उत्कृष्ट १०० वटा फोटोहरु रहेका छन् ।
२०६९ सालबाट सुरु भएको फोटो फोटो कम्पिटिसनको चौथो चरण कम्पिटिसन सँगै अवार्ड तथा प्रदर्शनी सम्म पुगेको हो । यस पटक भएको फोटो अवार्डमा गौरब रिजालको फोटोले पहिलो स्थान हात पार्न सफल भएको छ भने नन्द श्रेष्ठको फोटोले दोस्रो स्थान प्राप्त गरेको छ । यसैगरि तेस्रो स्थानमा सन्देश प्रजापतिको फोटो परेको छ ।
प्रथम हुने फोटोग्राफरलाई अवार्ड सहित क्याननको डिएसएलआर ७० डि क्यामेरा प्रदान गरिएको छ भने दोस्रो हुने फोटोग्राफरलाई क्याननको ७५० डि क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिएको छ ।
आइतबारबाट सुरु भएको फोटोप्रदर्शनी मंगलबार सम्म चल्ने तथा अबलोकनकर्तालाई निशुल्क प्रबेशको ब्यबस्था मिलाइएको काठमाडौं फोटोग्राफर संघका अध्यक्ष भबदेब थापाले जानकारी दिनुभयो ।
यसपटक गरिएको प्रतियोगिता गएका बर्षहरु भन्दा सफल बनेको बताउँदै पूर्व अध्यक्ष तथा संयोजक बालकृष्ण श्रेष्ठले अबलोकनका लागि बिभिन्न स्कुल तथा क्याम्पसबाट धेरै भन्दा धेरैको सहभागिता हुने बिश्वास ब्यक्त गर्नुभयो ।
यो प्रदर्शनीलाई फ्रेमिङ्ग निशुल्क ब्यबस्था गरेर सहयोग पुराएका सिबि माउण्ट एण्ड फ्रेमिङ्ग प्रालिका संचालक च्याङ्गबा लामाले आउँदा दिनहरुमा काठमाडौं फोटोग्राफर संघ सँग सहकार्य गर्ने बताउनुभयो ।
यो अवार्ड तथा प्रदर्शनीलाई क्यानन, फोटोकन्सर्न, फोटो प्वाइन्ट, फोटो हलिउड, क्यामेरा जोन, प्रितिका क्यामेरा सेन्टर, सोहेतो नेपाल, यु सफ्ट, काठमार्डौ डिजिटल फोटो एक्सप्रेस, सिबि माउण्ट एण्ड फ्रेमिङ, जिएस माउण्टले सहयोग गरेका छन् ।





















प्रतिक्रिया