काठमाडौं, ३० जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ ।
सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि कुटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सरकारले चिनियाँ राष्ट्रपति सीलाई असोजको अन्त्यमा स्वागत गर्ने तयारी गरिरहेको छ । त्यसलगत्तै वा अघि हुने गरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउने तयारी पनि थालिएको हो ।
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
नेपालको निमन्त्रणा प्रस्तावमा भारत सकारात्मक भए पनि मुखर्जीले कहिले भ्रमण गर्ने भन्ने यकिन भइसकेको छैन ।
भारतका कुनै पनि राष्ट्रपतिले १९ वर्षदेखि नेपाल भ्रमण गरेका छैनन् ।
नेपालका तर्फबाट लगातार भारतको भ्रमण हुने तर भारतको तर्फबाट विरलै हुने भन्दै नेपालले विभिन्न तहबाट भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका लागि आग्रह गरिरहेको जानकारी परराष्ट्र सम्बद्ध अधिकारीले दिए ।
‘सकेसम्म सन् २०१६ मा नै नेपाल भ्रमण गराउने गरी हामीले गृहकार्य अगाडि बढाइरहेका छौं तर मिति यकिन भइसकेको छैन’, हाल भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले भने ।
परराष्ट्रमन्त्री थापाले पटकपटक चिनियाँ राष्ट्रपतिको भ्रमणको पनि पहल भइरहेको बताएका थिए । साउथ चाइना मर्निङ पोस्टले पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने संकेत गरेको छ ।
नयाँ दिल्लीमा असोज २९ र ३० मा हुने व्रिक सम्मेलनमा भाग लिन जानुअघि वा भाग लिएर फर्कने क्रममा उनको नेपाल भ्रमण हुने सम्भावना रहेको जनाइएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका लागि रक्षामन्त्री भीम रावल चीन जान सक्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । रावल अहिले अमेरिका भ्रमणमा छन् ।
नेपालका प्रायजसो सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने गरेको भए पनि सत्र वर्षपछाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअगाडि नेपालको भ्रमण गरेका थिए ।
नेपाली अधिकारीहरूका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका लागि लामो समयदेखि गम्भीर रूपमा पहल भइरहेको छ र यसले छिटै नयाँ निष्कर्ष दिनेछ ।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गरेपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना छ ।
राष्ट्रपतिको भ्रमण अकस्मात रद्द भएपछि असन्तुष्ट भएको भारतले पहिला नेपालका राष्ट्रपतिको भारत भ्रमणको अपेक्षा गरेको छ ।
भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले आफू राजदूत रहँदा समेत भारतीय राष्ट्र्रपतिको भ्रमणका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए ।
उनले भने, ‘भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा नेपालले निरन्तर रूपमा राख्दै आएको छ,’ उनले भने ।















प्रतिक्रिया