काठमाडौं, २६ जेठ । आगामी आर्थिक वर्ष ०७३/७४मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरूले सरकारी बजेट प्रणालीभन्दा बाहिरबाट १५ अर्ब ७७ करोड १९ लाख २८ हजार रुपैयाँ खर्च गर्ने भएका छन् ।
समाजकल्याण परिषद्सँग सम्झौता गरेका एक सय ३५ आइएनजिओले एक सय ७९ परियोजनामा रकम खर्च गर्न लागेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
परिषद्सँग गरेको सम्झौताका आधारमा अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आइएनजिओले ७५ जिल्लामा परियोजना सञ्चालन गर्दै छन् ।
उनीहरूले पूर्वाधारमा भन्दा सामाजिक क्षेत्रमा बढी खर्च गर्नेछन् । परियोजना सञ्चालन गर्ने आइएनजिओमध्ये कतिपयले नेपालमै कार्यालय भएका दाता निकाय र कतिपयले नेपालबाहिरका दातामार्फत प्राप्त सहयोग पनि परिचालन गर्न लागेका छन् ।
बजेट प्रणालीभन्दा बाहिरबाट रकम खर्च हुने भएकाले यसको हिसाब–किताब सरकारसँग हुँदैन । परिषद्सँग परियोजना कार्यान्वयन सम्झौता भए पनि सरकारी खाताबाट खर्च नहुने भएकाले त्यो रकम कहाँ, कसरी सकियो भन्ने पत्तो हुँदैन ।
रकम अनुदानमा पाउने भएकाले पनि यसको खर्चमा सरकारले खासै ध्यान दिने गरेको छैन । आइएनजिओको खर्चको पारदर्शितामा भने बारम्बार प्रश्न उठ्दै आएको छ ।
‘हाम्रो आवश्यकताभन्दा पनि कतिपय आइएनजिओले आफ्नो प्रभुत्व देखाउन पनि रकम खर्च गर्ने गरेका छन्,’ अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा स्रोतले भन्यो, ‘नियमनकारी निकाय समाजकल्याण परिषद्ले प्रभावकारी अनुगमन गर्न नसक्दा आइएनजिओले जथाभावी गरिरहेका छन् ।’
अर्थ मन्त्रालयको विवरणअनुसार आगामी आवमा सबैभन्दा धेरै रकम सेभ दी चिल्ड्रेन इन्टरनेसनल युकेले परिचालन गर्दै छ । सेभ दी चिल्ड्रेनले तीन अर्ब ९८ करोड ८१ लाख रुपैयाँ परिचालन गर्ने भएको छ ।
भूकम्प प्रभावित १० जिल्लाका समुदायलाई सहयोग गर्न दुई अर्ब ५२ करोड १४ लाख ९५ हजार र बालअधिकारका कार्यक्रम सञ्चालन गर्न एक अर्ब ४६ करोड ६६ लाख ११ हजार खर्च गर्ने विवरणमा उल्लेख छ ।
सो संस्थाले भूकम्प प्रभावित समुदायमा तीन वर्ष कार्यक्रम सञ्चालन गर्नेछ । बेलायतमै मुख्यालय रहेको अक्सफामले आगामी आवमा एक अर्ब ६४ करोड रुपैयाँ खर्च गर्दै छ ।
अक्सफामले भूकम्प प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा र धादिङमा एक अर्ब २० करोड रुपैयाँ र २० जिल्लामा दिगो विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ४४ करोड रुपैयाँ परिचाल गर्न लागेको हो ।
अमेरिकाको विश्व वन्यजन्तु कोषले विभिन्न जिल्लामा ५२ करोड ९४ लाख ८७ हजार रुपैयाँको कार्यक्रम सञ्चालन गर्दै छ । समुदायमा पानी आपूर्ति, सरसफाइका लागि बेलायतको वाटर एड नेपालले ४८ करोड ३६ लाख रुपैयाँ खर्च गर्ने विवरण छ ।
अमेरिकाको रुम टु रिड नामक आइएनजिओले प्राथमिक विद्यालयका बालबालिकाको साक्षरता सुधारमा २३ करोड २५ लाख ५८ हजार खर्च गर्दै छ ।















प्रतिक्रिया