झापा, २४ जेठ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल प्रमुख कोषराज न्यौपानेले मानवअधिकार रक्षकहरु सरकारलाई सहयोग गर्न र खबरदारी गर्न पनि तयार हुनुपर्ने बताउनु भएको छ ।
पूर्वाञ्चल मानव अधिकार रक्षक परिषदको विर्तामोडमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहका प्रमुख अतिथिको आसनबाट मन्तव्य व्यक्त गर्नुहुँदै आयोगका क्षेत्रीय निर्देशक न्यौपानेले उक्त धारणा राख्नु भएको हो । उहाँले नेपाली जनताले लोकतन्त्र र कानुनी शासनको लडाई लडेर प्राप्त गरेको अधिकारलाई संरक्षण गर्न पनि लोकतन्त्र र कानुनी शासनलाई सुदृढ बनाउनु पर्ने धारणा राख्नुभयो । आयोगका पूर्वाञ्चल निर्देशक न्यौपानेले भन्नुभयो, ‘लोकतन्त्र र कानुनी शासनलाई सुदृढ बनाउन संविधानलाई सफल कार्यान्वयन गरिनुपर्छ ।’
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले मानवअधिकार रक्षकहरुले अधिकारसँगै कतव्र्यपालन गर्न पनि उत्प्रेरित गर्नु पर्ने बताउनुभयो । उहाँले अधिकारका नाममा गैरकानुनी ढंगले जोखिमपूर्ण स्थानमा बालबालिकालाई अगाडि सारिरहने भएको हुँदा त्यसतर्फ पनि ध्यान दिन जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा झापामा रहेर २० बर्षदेखि मानवअधिकारको क्षेत्रमा काम गरिरहनु भएका लालराज सुवेदीलाई सम्मान गरिएको थियो ।
रक्षक परिषदका अध्यक्ष सोमराज थापाको अध्यक्षतामा सम्पन्न परिषदको उद्घाटन समारोहमा नेपाली कांग्रेसका युवा नेता भगिरथ पोद्धार, परिषदका सल्लाहकार मोहनसिंह थेवे, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, मानवअधिकारका लागि एकल महिला, एकलमहिला समूह झापाकी अध्यक्ष रेखा अधिकारी, जेष्ठ नागरिक हित संरक्षण मञ्चका झापा अध्यक्ष भवानी दाहाल, मानवअधिकार रक्षकद्वय सूर्य उप्रेती, लालराज सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । मानवअधिकार रक्षक विष्णु खरेलले सञ्चालन गर्नु भएको कार्यक्रममा मानवअधिकार रक्षक डम्बरबहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
परिषद मंगलबारसम्म सञ्चालन हुने छ ।













प्रतिक्रिया