– केशव पन्त
महेन्द्रनगर, २२ जेठ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उत्पन्न विवाद र विद्यार्थी संगठनका बीचमा भईरहेको कुटाकुटका विषयमा स्थानीय प्रशासन र राजनीतिक दलका बीचमा नयाँ सहमति भएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको फेसबुक स्टाटसबाट सुरु भएको विद्यार्थी आन्दोलनले विवादित रुप लिएर विद्यार्थी संगठन एक आपसमा आक्रमण प्रतिआक्रमण गर्न थालेपछि शुक्रवार साँझ कञ्चनपुरका राजनीतिक दल र स्थानीय प्रशासन बीच नयाँ सहमति भएको हो ।
नेविसंघ र अनेरास्ववियुका विद्यार्थीले एकअर्का संगठनका विद्यार्थीलाई राति ९–१० बजे तिर कोठामा गएर कुटपिट गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्थानीय शान्ति भंग गर्ने गरी भईरहेका क्रियाकलाप रोक्न पक्राउ गरेर कारवाही गर्ने जनाएपछि बैठक बसेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी तुलसीप्रसाद अधिकारी, सशस्त्र प्रहरीका एसपी तारादत्त पन्त लगायतको उपस्थिति रहेको बैठकमा नेकपा एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्ट, नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति हरिप्रसाद बोहरा र सचिव भोजराज बोहरा सहभागी हुनुभएको थियो ।
जेठ १४ गते यता भएका सम्पूर्ण घटना दुःखद भएको निष्कर्ष निकाल्दै बैठकले आईवार विद्यार्थी संगठनले आफूले विश्वविद्यालयमा लगाएका ताला खोल्ने, आक्रमणमा घाईते भएका विद्यार्थीको उपचार खर्च बेहोर्न विश्वविद्यालयलाई आग्रह गर्ने, आजसम्म भएका सम्पूर्ण घटना राजनीतिक प्रकृतिका भएकाले त्यसमा कुनै कानुनी प्रक्रिया अगाडी बढाउनु नपर्ने लगायतका विषयमा सहमति भएको छ ।
तर, सहमति भएको केही घन्टापछि फेरी अनेरास्ववियुका विद्यार्थीले नेविसंघका पारस जोशी माथि आक्रमण गरेका छन् । शुक्रवार राती महेन्द्रनगर बजारको एक होटेलमा खाना खाईरहेका जोशी माथि अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेका हुन् । राजनीतिक दलले गरेको निर्णय नमान्ने विद्यार्थीलाई सम्झाउनु नसक्नु राजनीतिक दलका नेताको कमजोरी हो । काठमाण्डौमा रहेका नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले विश्वविद्यालयमा गरिएको तालाबन्दी आईतवार खुल्ने बताउनुभयो । विश्वविद्यालयका समस्या समाधानका लागि मिलेर जानुको विकल्न नभएकाले जिल्लामा रहेका बिभिन्न विद्यार्थी संगठनका बीचमा मित्रवत व्यवहार हुनुपर्ने उहाँले बताउनुभयो ।
राजनीतिक दलहरुका बीचमा सहमति भईसकेपछि अनेरास्ववियुले आफ्ना विद्यार्थी माथि आक्रमण गर्नु गलत भएको काँग्रेसको ठहर छ । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति हरिप्रसाद बोहराले सहमति र सहकार्यबाट समाधान खोज्ने सहमति भईसके पछि पनि अनेरास्ववियुले आक्रमण गर्नु उचित नभएको बताउनुभयो । आफ्ना संगठनका विद्यार्थीलाई पार्टीले नियन्त्रणमा राख्नु पर्नेमा काँग्रेस एमाले सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
आफ्नो माउपार्टीले गरेको निर्णय नमान्ने विद्यार्थीको आन्दोलन छाडा प्रवृतिको छ । एकआपसमा बसेर छलफल गरिसकेर सहमति जनाईसकेको अवस्थामा आफूले गरेको सहमतिलाई लत्याउदै फेरी आन्दोलन गर्नु विद्यार्थीको कमजोरी हो । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले आफ्नो संगठनका विद्यार्थीलाई छाडा छाडेको नभई केही खुला छाडेको बताउनुभयो । खुला छाडेकै कारण यस्तो समस्या देखिएको भए पार्टीको नीति निर्देशन विपरित काम गर्नेलाई कारवाही समेत गरिने उहाँले बताउनुभयो ।
विद्यार्थीको बिवाद बढदै गएपछि चिन्तित बनेको प्रहरी पनि शुक्रवार साँझ भएको नयाँ सहमति पछि आजबाट गल्ती गर्नेलाई कारवाही गर्ने मनसायमा छ । जिल्लामा राजनीतिक वातारण नबिग्रीयोस भन्ने उद्धेश्यले हिजोसम्म कारवाही नगरेको तर, आजबाट फेरी कुटपीटका घटना भएमा घटनामा संलग्नमा तत्काल पक्राउ गरी मुद्धा चलाउने कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले बताउनुभयो ।
विद्यार्थी आन्दोलन अन्तर्गत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको कार्यकक्षमा अनेरास्ववियुले तालाबन्दी गरेको छ भने विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेटमा नेविसंघले तालाबन्दी गरेको छ । संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको राजीनामा दिनुपर्ने, पुस्तकालयको उचित व्यवस्थापन हुनुपर्ने, अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनुपर्ने, र विश्वविद्यालयका कर्मचारीले राजनीति गर्नु नहुने माग राखेका छन् ।













प्रतिक्रिया