इस्लामाबाद, २० जेठ । पाकिस्तानको एक अदालतले शुक्रबार पूर्व मन्त्रीलाई भ्रष्टाचारको आरोपमा १६ बर्षको जेल सजाय सुनाएकोे छ ।
धार्मिक मामिलामन्त्री हमिद सएद कज्मीलाई तीर्थयात्रीहरुसँग यात्राका क्रममा बढी भाडा लिएर भ्रष्टाचार गरेको आरोपमा १६ बर्षको जेल सजायको फैसला सुनाइएको हो ।
सन् २०१० मा पाकिस्तान पिपुल्स पार्टीको सरकार रहेको समयमा साउदी अरेबिया जान लागेका तीर्थयात्रीसँग सवारी भाडा बढी लिएर भ्रष्टाचार गरेको आरोपमा उनलाई जेल सजाय दिइएको बताइएको छ ।
यस प्रकार लिइएको बढी भाडाबाट ३५ हजार पाकिस्तानी तीर्थयात्री प्रभावित भएका थिए ।
धार्मिक मामिला विभागका अन्य दुई वरिष्ठ अधिकारीरुलाई पनि सो अदालतले १६ र ४० बर्षको जेल सजाय सुनाएको राजधानी इस्लामावादबाट आज प्राप्त समाचारमा जनाइएको छ ।
पाकिस्तानका सांसद र केही साउदी अधिकारीहरुसमेत यस भ्रष्टाचारमा सहभागी भएका बताइएको छ । उनीहरुको बारेमा पनि अनुसन्धान जारी छ ।
पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अब्दुल कादिर गिलानीलाई समेत यस मुद्दामा अनुसन्धान गरिएको तर उनले भने सफाई पाएको बताइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया