महेन्द्रनगर, १० जेठ । जिल्ला वन कार्यालय कैलाली अन्तर्गतका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले सोमबार सेक्टर वन कार्यालय बलचौरका सहायक बन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय जगतपुरका रेन्जर बाबुराम मिजारलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेक्टर बन अधिकृत मल्ललाई नगद रु २५ हजार ५ सय र इलाका बन कार्यालय जगतपुरका रेन्जर मिजारलाई नगद रु ५१ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसुन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलका निमित्त प्रमुख विष्णुसिंह बिष्टले जानकारी दिए ।
उनका अनुसार नारायणपुर गाबिस वार्ड नं.९ बैधीस्थित घाटगद्दीमा रहेको काठमा बिर्माका गरेबाफत दुबैजनाले घुस लिएका थिए ।
नगद रु ७६ हजार ५ सय घुससहित पक्राउ परेका दुबै जनामाथि थप अनुसुन्धान भइरहेको अख्तियारको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले जनाएको छ ।












प्रतिक्रिया