
काठमाडौं, ८ जेठ । पर्वतको शंखरपोखरी गाविसमा एकदिने निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पर्वत सेवा समाज इजरायलको आर्थिक सहयोग र सहायता सञ्जाल फाउण्डेशन नेपालको आयोजनामा शनिवार सो निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शंखपोखरीस्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा चार सय ४१ जना महिलाको स्वास्थ्य चेकजाँच र उपचार गरिएको आयोजक पर्वत सेवा समाज इजरायलका वरिष्ठ उपाध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।
शिविर विहान सातबजेदेखि साझ झण्डै साढे सात बजेसम्म सञ्चालन भएको थियो । शिविरमा काठमाडौंस्थित मनमोहन सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विनय सिग्देल, डा. शोभा बस्नेत सहितको चिकित्सकको टोलीले बिरामीको चेकजाँच र उपचार गरेका थिए ।
आर्थिक अवस्था र विज्ञ चिकित्सकको अभावमा विभिन्न रोग पालेर बस्न बाध्य महिलाहरुले आफ्नै गाउँठाउँमा विज्ञ चिकित्सकबाट निशुल्क उपचार गराउन पाउँदा साह्रै खुशी लागेको स्थानीय बृद्धा लक्ष्मी विकले बताइन ।
शिविरमा उपचारका लागि आएकी महिलाहरुलाई आवश्यक पर्ने औषधी पनि निःशुल्क उपलब्ध गराइएको वरिष्ठ उपाध्यक्ष पौडलले बताए ।

ग्रामीण भेगका महिलाहरु आर्थिक अवस्थाका कारण रोग पालेर वस्न बाध्य हुने गरेकाले उनीहरुलाई केही राहत होस् भनेर पर्वत सेवा समाज इजरायलले आर्थिक संकलन गरी सहायता सञ्जाल फाउण्डेशन नेपालसँग समन्वय गरेर सो एकदिने निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविरको आयोजना गरिएको पर्वत सेवा समाज इजरायलकी महासचिव दिया चापागाईले बताइन् ।
‘शिविरमा उपचार गराउन आउने महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । आउँदा दिनहरुमा पनि पर्वत सेवा समाज इजरायल अरु रचनात्मक कार्य गर्न तत्पर रहने छ, ‘महाचिव चापागाईले भनिन्, ‘एकदिने निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर सफलरुपमा सम्पन्न गर्न सहयोग गर्ने सवैलाई पर्वत सेवा समाज इजरायलको हार्दिक धन्यवाद छ ।’
सहायता सञ्जाल फाउण्डेशन नेपालका अध्यक्ष टंकनाथ लामिछाने अध्यक्षतामा भएको सो निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविर कार्यक्रममा प्रमुख अतिथि स्त्रीरोग विशेषज्ञ डा. विनम्र सिग्देल रहेका थिए भने विशिष्ठ अतिथि पर्वत सेवा समाज इजरायलका वरिष्ठ उपाध्यक्ष अर्जुन पौडेल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. सिग्देलले कामको सिलसिलामा इजरायलमा रहेका पर्वतेहरुले आफ्नो जन्मभूमिका लागि आर्थिकको जोहो गरेर निशुल्क स्त्रीरोग स्वास्थ्य शिविरको आयोजना गरी धेरै ठूलो प्रशंसनिय काम गरेको उल्लेख गरेका थिए । इजरायलमा रहेका पर्वतेहरुबाट अरुले पनि सिको गरेर जन्मभूमिका लागि रचनात्मक कार्य गर्नुपर्ने डा. सिग्देलको भनाई थियो ।
विदेशमा काम गर्नुको पीडा काम गर्नेलाई मात्र थाहा हुन्छ । त्यसका बाबजुत पनि आफूले केही रकम छुट्टाई सामाजिक कार्यमा लगाउन पाउँदा साह्रै खुशी लागेको वरिष्ठ उपाध्यक्ष पौडेलले बताए । यस्तै रचनात्मक कार्यको अरुले पनि सिको गरेर आफ्नो गाउँठाउँका लागि सक्दो सहयोग गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष पौडेलले सबैलाई आग्रह गरे ।
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको समापनसँगै उपचारमा संलग्न डा. सिग्देलसहितको टोलीलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो ।












प्रतिक्रिया