
– मोहन पौडेल
नवलपरासी, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम स्तुपको अवलोकन गर्नुभएको छ ।
सेनाको हेलिकप्टर मार्फत आज दिउँसो साढे २ बजे आउनुभएकी राष्ट्रपति भण्डारी स्तुप क्षेत्रको अवलोकन गर्दै त्यस क्षेत्रको वस्तु स्थीती र महत्वबारे जानकारी लिनुभएको थियो । नवलपरासीको रामग्राम नगरपालिका वडा न.७ स्थीत रामग्राम स्तुप, शान्तिका दूत गौतम बुद्धको अस्तुधातु रहेको स्थल हो ।

गौतम बुद्धको अस्तुधातु बनाइएका प्राचीन रामग्राम स्तुप धार्मिक, पर्यटकीय तथा पुरातात्वीक हिसावले महत्वपुर्ण स्थल हो । शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि उनका अस्तु तत्कालीन शाक्य, कोलिय, बैशाली, मगध, बलिया, उज्जैनलगायत विभिन्न गणराज्यका राजाले लगेर आआफ्ना राज्यमा स्तूपको निर्माण गराएका थिए । रामग्राम स्तूपबाहेक अन्य स्थानको स्तूप तत्कालीन मगधका मौर्यसम्राट अशोकले उत्खनन गराई संसारभरि बुद्धको स्तूप बनाउन लगाएका थिए ।
कोलिय राजाले निर्माण गराएका रामग्राम स्तूप उनले उत्खनन गराउन खोज्दा नाग जातिले खन्न नदिएपछि अहिले पनि यो स्तूप सिङ्गो रुपमा रहेको छ ।स्तुपको महत्व प्रचारप्रसार गर्न र महत्व बौद्धमार्गीमा जानकारी गराउन स्तुपको संरक्षण गर्ने निकायले वेवास्ता गर्दा यो स्थल ओझेलमा पर्दै आएको छ ।

लुम्बिनी विकास कोष अन्तर्गत रामग्राम स्तूप भए पनि यस क्षेत्रप्रति कोषले बेवास्ता गर्दै आएको स्थानीयहरुको गुनासो छ । कोलिय राज्यको राजधानी समेत पत्ता लागिसकेको हुँदा राजधानी र स्तूपको एकीकृत विकासका लागि पनि स्थानीय नै लाग्नुपर्छ भनेर स्थानीयस्तरबाट सक्रियता बढीरहेको छ ।
स्तुपको अवलोकनका लागि पहिलो पटक राष्ट्रपति आउँदा स्थानीयहरु हर्षित भएका थिए । राष्ट्रपति भण्डारीले स्तुपमा उपस्थीत जनसमुदाय सँग पनि भेटघाट गर्नुभएको थियो ।















प्रतिक्रिया