१७ कार्तिक २०८३, मंगलबार

रूपन्देहीमा एचआईभी संक्रमितको संख्या घट्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hiv sankramit

– प्रकाश न्यौपाने
भैरहवा, ४ जेठ । रूपन्देही जिल्लामा यो आर्थिक वर्षको नौ महिनामा ८५ जना एचआईभी संक्रमित भेटिएका छन् । जिल्लामा २०७२ को असार देखि हालसम्मको अवधिमा ८५ जना नयां एचआइभी संक्रमित थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका जनस्वास्थ्य निरीक्षक मोती पौडेलले जानकारी दिए ।

जिल्लामा गत आर्थिक वर्ष १ सय ७९ जना एचआईभी संक्रमित थपिएकोमा यो वर्ष नयां एचआइभी संक्रमितको संख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । यसरी संक्रमितको संख्या घट्नुमा समाजमा फैलिएको सचेतना, विभिन्न संघ संस्थाले गर्ने कण्डम वितरण, विदेशिएका परिवारका सदस्यलाई रोगबारे जानकारी दिईनु जस्ता मुख्य कारण रहेको निरीक्षक पौडेलको भनाई छ ।

संक्रमित मध्य आर्थिक वर्षको वैशाख तेस्रो सातासम्म २७ जनाको मृत्यु भइसकेको छ । यो गत वर्षको तुलनामा बढी हो, गत वर्ष २६ जना संक्रमितको ज्यान गएको थियो । उपचारमा ढिला, अन्तिम समयमा उपचारमा आएका र औषधि सेवन ढिलो गरी सुरू गरेका कारण यो वर्ष मृतकको संख्या बढेको निरीक्षक पौडेलको भनाई छ ।

रूपन्देही जिल्लामा अधिकांश एचआईभी संक्रमितहरू विदेशबाट फर्किएका र उनका परिवारका सदस्यहरू रहेको उनको भनाई छ । उनी भन्छन्– ‘पछिल्ला वर्षहरूमा लागू औषध प्रयोगकर्ताहरू एचआईभी संक्रमित हुने संख्या घट्दो छ भने विदेशबाट फर्किनेहरूमा संक्रमण बढ्दो छ ।’

जिल्लामा हाल १ हजार २ सय ८६ जना एचआईभी संक्रमित रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यीमध्ये ८ सय ४२ जनाले एचआइभीको एआरटी औषधी सेवन गर्दै आएका छन् । सरकार आफैले एचआईभी संक्रमितका लागि भनेर छुट्टै कार्यक्रम सञ्चालन गरेको छैन् । जिल्लामा क्रियाशिल एनजिओ, आईएनजिओहरूको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गर्ने गरेको पौडेलको भनाई छ । जिल्लामा नमूना एकिकृत विकाश परिषद्, निलहिरा समाज, युनाईटेड लुम्बिनी फाउण्डेसन लगायतका गैर सरकारी संस्थाहरूले यस क्षेत्रमा काम गर्दै आएका छन् ।

सरकारको आफ्नै पहलमा घरदैलोमा पुगेर एचआईभी परीक्षण गर्ने व्यवस्था भएमा पीडितको संख्या अनुमान गरे भन्दा धेरै हुनसक्ने निरीक्षक पौडेलको भनाई छ ।

आमाबाट बच्चामा हुने संक्रमण ९० प्रतिशतसम्म रोक्न जिल्लामा पिएमसिटी कार्यक्रम लागू भएको छ । सही तवरले सुत्केरी गराउने र गर्भ बसेको समयमा बच्चालाई संक्रमण हुन नदिन गर्भवती महिलालाई नियमित चेकजंँच गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रम भैरहवास्थित भीम अस्पताल, बुटवलको लुम्बिनी अञ्चल अस्पतालको साथै जिल्लाका १८ वटा बर्थिङ सेन्टरमा सेवा उपलब्ध रहेको कार्यालयले जनाएको छ ।