– राजकुमार ओली
झापा, २ जेठ । कारागारमा रहेको बन्दीका बालबालिकालाई लक्षित गरि झापाको बुट्टाबारीमा मनमाया बाल गृह सञ्चालनमा आएको छ ।
उक्त गृहको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सबैले इन्दिरा राना जस्तो काम गर्नसके नेपाल समृद्ध बन्न समय नलाग्ने बताए । गरिवीबाट हुर्किएकी इन्दिराबाट धेरै कुरा सिक्न सकिने र सबै नेपालीले यस्ता काममा सहयोग गर्ने हो भने परिवर्तन सम्भव रहेको उनको भनाई थियो ।
आफूले आफ्नो आमाको स्मृतिमा मनमाया बाल गृह निर्माण गरिएको जानकारी दिदै इन्दिरा रानाले नेपाल भर १५ वटा यस्ता बालगृह निर्माण गर्न खोजेको र हाल सम्म १० बटा निर्माण गरिसकिएको जानकारी दिइन् ।
आफूले पाल्पा, धादिङ लगायतका स्थानमा समेत बालगृह निर्माण गरिसकेको र आफ्नो इच्छा कारागारमा रहेको बन्दीका बालबालिकाको भविष्य उज्वल बनाउनु भएकोले आफ्नो पवित्र इच्छालाई सबैले साथ दिएको बताइन् ।
बन्दी सहायता नेपालको सहयोगमा शनिअर्जून ९ स्थित बुट्टाबारीमा रहेको जुनकिरी सार्वजनिक प्राथमिक विद्यालय परिसरमा २ तल्लाको बालगृह उद्घाटन गरिएको हो । अन्तर्राष्ट्रियस्तरमा समेत अर्वाड विजेता भइ ख्याति कमाएकी बन्दी सहायता नेपालका अध्यक्ष इन्दिरा राना मगरको सक्रियतामा कालिनु नेपाल स्पेनको आर्थिक सहयोगमा १० लाख ८६ हजारको लागतमा बालगृह निर्माण गरिएको हो ।
स्पेन नागरिक ओरियले बु्रनाइ अरुमे र श्रीमती ग्लोरियाले आर्थिक सहयोग गरि निर्माण गरिएको बाल गृहमा २० जना बालबालिकाको क्षमता रहेको बन्दी सहायता नेपालका पुर्वाञ्चल सयोजक जगत राना मगरले जानकारी दिए ।
कार्यक्रममा बालगृहलाई स्थानीय समाजसेवी रामकुमार कन्दडवाले शुद्ध खानेपानीको व्यावस्थापन गरिदिने घोषणा गरे । उद्घाटन समारोहमा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल, जिल्ला शिक्षा कार्यालय झापाका सहायक जिशिअ युवराज पाण्डे, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय सदस्य जानुका गुरागाइँ लगायतले बालगृहलाइ शुभकामना दिदै बन्दी सहायता केन्द्र नेपालको अभियानले जेलमा रहेका बन्दीका बालबालिकाको उज्वल भविष्यको बाटो खोलिदिएको धारणा राखे ।













प्रतिक्रिया