– मोहन पौडेल
नवलपरासी, २ जेठ । सत्तारुढ नेकपा एमालेका लुम्बिनी अन्चल ईन्चार्ज एवँ सांसद बैजनाथ चौधरीले वर्तमान गठबन्धन आगामी संसदीय चुनाव सम्म कायम रहने दावी गर्नुभएको छ ।
संविधान कार्यान्वयन, मुलुकको आर्थिक सम्बृद्धिका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकोे पनि उहाँले बताउनुभयो ।
नवलपरासीको परासीमा आज आईतबार विहान भएको पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रभावशाली नेता चौधरीले यस्तो बताउनुभएको हो । अहिलेको सरकारले बजेट प्रस्तुत गरि पारित मात्रै होईन, कार्यान्वयन पनि गर्ने भएकाले शंका उपशंका नगर्न उहाँले आग्रह पनि गर्नुभयो ।
आगामी मंसिरमा हुने भनिएको स्थानीय निकायको निर्वाचन संविधान बमोजिमको नभई, संविधान बमोजिमको केन्द्रीय, संघिय र स्थानीय निकायको निर्वाचन नहुन्जेल सम्मको लागि गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
संविधानमा व्यवस्था भएबमोजिमको चुनाव गराउन समय लाग्ने भएकाले अहिलेको खड्कीदोँ जनप्रतिनिधिको अभाव पुर्ति गर्नका लागि चुनाव गर्न लागिएको र त्यो भएरै छाड्ने ठोकुवा गर्नुभयो । वर्तमान सरकारले ल्याएको निति तथा कार्यक्रममा विगतका सरकारको भन्दा धेरै फरक रहेको भन्दै उहाँले लोकप्रिय कार्यक्रमहरु प्रचारका लागि नभई कार्यान्वयनका लागि भएको बताउनुभयो ।
उहाँले लोकप्रिय कार्यक्रमलाई हाँसी मजाकको रुपमा नलिई कार्यान्वयनमा सहयोग गर्न सवै दलहरुलाई आग्रह पनि गर्नुभयो ।
सांंसद समेत रहनुभएका नेता चौधरीले आफनो निर्वाचन क्षेत्रको विकासमा आफू प्रतिवद्ध रहेको मात्रै होईन, विकास निर्माण पनि तिव्र्र रुपमा अगाढी बढाईरहेको जानकारी दिनुभयो ।













प्रतिक्रिया