काठमाडौं, ३० वैशाख । आगामी जेष्ठ ६ गते चीनमा हुन लागेको ‘युथ कल्चर फेस्टिवल’मा एमालेले आफ्ना कार्यकर्ताहरुलाई मात्र सहभागी गराउन खोजेको भन्दै मधेशी युथ थिंक ट्यांकका अध्यक्ष डा. विनय पञ्जियारले विरोध जनाएका छन् ।
समानुपातिक समावेशिताको सिद्धान्तलाई सत्ता सञ्चालक एमालेले नै खिल्ली उडाएको आरोप अध्यक्ष डा. पञ्जिायरको छ ।
डा. पञ्जियारले प्रेस विज्ञप्ति जारी गरेर खस समुदायबाट जम्बो टोली उक्त कार्यक्रममा राज्य कोषको दुरुपयोग गरी जान लागेकोले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले नेपालका हरेक समुदायको समानुपातिक सहभागिता हुनुपर्ने भन्दै मधेसी युवाहरूलाई पनि हरेक स्थानमा सहभागिता गराउनेपर्ने बताए ।
यसैगरी, सत्तारुढ दल मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का भ्रातृ संगठन मधेशी विद्यार्थी फोरम, नेपाल (लोकतान्त्रिक)ले पनि चीन भ्रमणमा मधेशी समुदायका युवाको पनि सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवले मधेशी युथ थिंक ट्यांकको यस कार्यमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।












प्रतिक्रिया