डोल्पा, २५ वैशाख । उत्तरी डोल्पामा पर्ने ‘कुनासा’ यार्सागुम्बा पाटनबाट अवैध यार्सागुम्बा सङ्कलन गर्दै गरेको अवस्थामा २६ जना तस्कर पक्राउ परेका छन् ।
यार्सागुम्बासहित पक्राउ पर्नेहरु सबै डोल्पाकै भएको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका खरिदार देवेन्द्र जिसीले जानकारी दिए ।
उनीहरुलाई सेनाले नियन्त्रणमा लिएर सुम्धो पोस्टमा राखिएकाले निकुञ्ज कार्यलयमा ल्याउनको लागि शनिवार बिहानै सेनाको टोली सुम्धोतर्फ गएको जिसीले बताए ।
औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन कार्य सुरु नहुँदै उनीहरु तस्करीका लागि यार्सागुम्बा पाटन गएका बेला नेपाली सेनाको सुम्धो पोस्टबाट गस्ती गएको टोलीले पक्राउ गरेको निकुञ्जले जनाएको छ ।
यार्सागुम्बा सुरक्षाको लागि जिल्लाको तोईजुम, सुम्धो, सुलिगाडलगायतको ठाउँमा सेनाको पोस्ट स्थापना गरिएको छ ।
औपचारिक रुपमा सङ्कलन कार्य हुनुअगावै हुन तस्करी नियन्त्रणका लागि सेनाले कडाइ गरेको छ ।
यस वर्ष यार्सा पाटनमा हिउँ नभएकाले पनि अगाडिनै यार्सागुम्बा पाइने भएकाले पनि तस्कर औपचारिक रुपमा सङ्कल हुनुअगावै छिर्ने गरेको संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।












प्रतिक्रिया