काठमाडौं, २४ वैशाख । सिरियाको एक शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
बिहीवार राति भएको आक्रमण उत्तरी सिरियाको विद्रोहीको कब्जामा रहेको इलाका इदलिब प्रान्तको कामूना क्याममा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कामूना शरणार्थी शिविर टर्कीको सिमानाबाट १० किलोमिटर दूरीमा पर्दछ ।
आक्रमण सिरिया वा रुसी लडाकू विमानले गराएको आशंका गरिएको छ । आक्रमण कसले गरेको हो भन्ने आधिकारिकरुपमा पुष्टि भने हुन सकेको छैन ।
रुस र अमेरिकाको दबाबपछि सिरिया सेना र विद्रोही गुट अलेप्पोको इद गिर्द इलाकामा अस्थायी युद्धविरामका लागि तयार भएका थिए ।
सिरियामा फेब्रुअरीदेखि युद्धविराम लागू भएको भएपनि पछिल्ला दिनमा आक्रमणका घटना बढेका छन् ।
पछिल्लो दूई सातामा सिरियाको अलेप्पोमा तीनसय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यसैवीच अमेरिकाले सिरियाको शरणार्थी शिविरमा भएको हवाई आक्रमणको निन्दा गरेको छ । – एजेन्सी















प्रतिक्रिया