३१ आश्विन २०८३, शनिबार

‘घैँटे’लाई सुरक्षाकर्मीले रोल्पामा यसरी हानेका थिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janak Gharti Magar 1काठमाडौं । फिल्म भनेपछि सानैदेखि माया गर्ने जनक घर्ती मगर अभिनित फिल्म ‘रोल्पा रोग’ यही वैशाख २४ मा अल नेपाल रिलिज हुँदैछ । आफू अभिनित फिल्म रिलिज हुँदैगर्दा रमाइलो मानिरहेका जनकले फिल्मबाट ठूलो अपेक्षा लिएको बताए ।

‘रोल्पा रोग’ले आफूलाई कला क्षेत्रमा स्थापित गर्न मद्दत गर्ने बताएका जनकले भने, ‘फिल्म खेल्ने मेरो सानैदेखिको इच्छा हो । यो फिल्ममा मैले सकेजति राम्रो काम गरेको छु ।’ फिल्ममा कस्तो भूमिका छ भन्ने जिज्ञासामा जनकले भने, ‘फिल्ममा मास्टरको छोरो, पढाइ छाडेको, युवती र लडाइँ झगडाको मामिलामा बढी अग्रसर हुने भूमिकामा छु ।’

फिल्ममा ‘घैँटे’ नामबाट अभिनय गरेका जनकको अभिनय जीवन्त रहेको निर्देशक दीपक ओलीले बताए । ‘घैँटे’ पात्रले फिल्मलाई अति सुन्दर बनाइदिएको छ’, निर्देशक ओलीले भने, ‘फिल्मका तीनजना युवाको क्यारेक्टरमध्ये घैँटेको भूमिका विशेष खालको छ । अहिलेसम्म यो भूमिकाबाट राम्रो रेस्पोन्स पाइन्छ कि भनेर आश लिएको छु ।’

‘रोल्पा रोग’को छायाँकन गर्ने क्रममा जनकको गेटअप देखेर स्थानीयले हसिमजाक गरेको जनकलाई अहिले जस्तै लाग्छ । ‘फिल्म छायाँकन Rolpa Rog Janakअवधिभरि मैले मेरै ‘घैँटे’ पात्रकै कपडामा रहेर काम गरेँ’, छायाँकनको अनुभव सुनाउँदै जनकले भने, ‘स्थानीयले फिल्मको हीरो को हो भनेर चासो राख्दा सबैलाई मतिर औँला देखाइदिन्थे । त्यसपछि यस्तो पनि हीरो हुन्छ र ? भनेर दङ्ग पर्थे । अहिले पनि म रोमाञ्चित हुन्छु ।’
फिल्ममा ‘घैँटे’ पात्र सुरक्षाकर्मीले हानेको गोली लागेको हुन्छ । त्यसपछि फिल्मले अर्को मोड लिन पुग्छ ।

यसअघि ठूलो पर्दामा खेलेको अनुभव रहेका जनकले साना पर्दाका थुप्रै फिल्ममा भने अभिनय गरेका रहेन्छन् । उनले सुरूमा ‘तितो सत्य’मा अभिनय गरेका रहेछन् । ‘अभिनयको आरम्भ मैले तितो सत्यबाट गरेको हुँ’, जनकले भने, ‘त्यसपछि अरु पनि टीभी कार्यक्रमहरूमा अभिनय गरेको छु ।’

काठमाडौंको सुकेधारमा रहेको ओस्कार फिल्म कलेजमा एक्टिङमा तेस्रो वर्षका विद्यार्थी जनकले १२ सम्मको अध्ययन विज्ञान विषयमा गरेका हुन् । मनभित्रैदेखिको फिल्मी चाहनालाई पूरा गराउन जनकले आफ्नो औपचारिक शिक्षालाई अभिनयतिर मोडेका हुन् ।

पछि पनि फिल्ममै लाग्ने योजना बनाएका यी रोल्पा घर भएका जनकलाई बाबुआमाको साथ छ । बाबुआमाले छोरोले गरेको कामबाट सन्तुष्ट छन् । ‘बाबुआमाले सहयोग गर्नुभएको छ’, जनकले भने, ‘उहाँहरूले जे गर्छस् राम्रो गर भनेर भन्नु हुन्छ ।’

जनक मार्शल आर्टका खेलाडी पनि हुन् । खेलबाट उनले पुरस्कार जितेका छन् । अबका दिनमा कस्ता फिल्म खेल्ने मन छ भन्ने जिज्ञासामा जनकले भने, ‘एक्शनप्रधान फिल्म खेल्ने मन छ ।’

‘रोल्पा रोग’ दीपक ओलीले निर्देशन गरेका हुन् । फिल्ममा लगानी पनि ओलीकै छ । यो फिल्ममा जनक घर्ती मगरका साथै कुलदीप अधिकारी, विनु खड्का, सुशील पोखरेल, रामबाबु आक्रोश, मुकुन्द भुसाल, कश्मीरा रसाइलीलगायतको भूमिका छ । फिल्ममा संगीत गोविन्द मधुर आचार्यले दिएका हुन् । स्वर भने गोविन्दका साथै रीता केसीको छ ।

हालै सेन्सर पास भएको ‘रोल्पा रोग’ वैशाख २४ गते अल नेपाल रिलिज हुँदैछ । फिल्ममा तत्कालीन नेकपा (माओवादी)को द्वन्द्वबाट प्रभावित तीनजना युवको कथालाई पर्दामा उतारिएको छ ।

हेर्नुस् फिल्मको ट्रेलरः