काठमाडौं, २१ वैशाख । कलाकार गणेश बेलवासेद्वारा निर्मित फिल्म ‘उहिले बाजेको पालामा’ले सोमबार भव्य प्रिमियर शो गरेको छ ।
बागबजारस्थित सीटी म्याक्स फिल्म हलमा भएको प्रिमियर शोमा सामान्य प्रशासनमन्त्री रेखा शर्मा, सांसदहरू राजु खनाल, पार्वती डिसी चौधरी र गगन थापालगायत थुप्रै भीआइपीको उपस्थिति रहेको थियो । प्रिमियर शोमा आएका सबै पाहुनालाई फिल्मको टिमले स्वागत गरेको थियो ।
प्रिमियर शोपछि सामान्य प्रशासन मन्त्री रेखा शर्माले फिल्मले गाउँको साधारण परिवेशलाई देखाउन खोजेको भन्दै फिल्मबाट नयाँ कुरा धेरै सिक्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फिल्मले गाउँको सानो कुरालाई सन्देशका रुपमा दिन खोजेको पाए, फिल्म समग्रमा राम्रो बनेको छ ।’
सांसद राजु खनालले गाउँको लोकसंस्कृति र त्यसको संरक्षणका लागि ठूलो भूमिका खेलेको आफूले पाएको बताउनुभयो । ‘फिल्म कस्तो बन्योभन्दा पनि त्यसले देश र जनताका लागि के दिएको छ भन्ने हेर्नुपर्छ । फिल्म मलाई राम्रो लाग्यो’, उहाँले भन्नुभयो, ‘धेरै लामो समयपछि यो नेपाली फिल्म हेरेको हुँ, मलाई मन परेको छ ।’
सांसद गगन थापाले ‘उहिले बाजेको पालामा’ साठीको दशकमा नेपाली समाज कस्तो थियो भनेर ठूलो सन्देश दिन खोजेको आफूले पाएको बताउनुभयो । ‘फिल्मका सबै पाटो केलाउनुभन्दा पनि त्यसले बोकेको सन्देश ठूलो छ’, थापाले भन्नुभयो, ‘फिल्म एक पटक सबै नेपालीले हेर्नै पर्ने देख्छ । साठी वर्ष अगाडिको विषयलाई सरल रुपमा फिल्ममा राखिएको रहेछ ।’
सांसद पार्वती डिसी चौधरीले ‘उहिले बाजेको पालमा’ राखिएका सम्वादले आफूलाई ठूलो प्रभाव पारेको बताउनुभयो । ‘फिल्मको सम्वाद राम्रो लाग्यो’, उहाँले भन्नुभयो, ‘गाउँमा कुन भाषा कसरी बोलिन्छ भन्ने कुरालाई फिल्मले जस्तोको त्यस्तै उतारेको रहेछ ।’
फिल्म वितरक सुनिल मानन्धर, फिल्मका कलाकारको प्रिमियर शोमा बाक्लो सहभागिता थियो । फिल्मलाई बसन्त जीएमले निर्देशन गरेका हुन् । फिल्ममा दिलिप रायमाझी, गणेश बेलवासे, खुश्वु खड्कालगायतको अभियन छ । ‘उहिले बाजेको पालामा’ यही वैशाख २४ गते अल नेपाल रिलिज हुँदैछ ।















प्रतिक्रिया