
नयाँ दिल्ली, २० वैशाख । भारतीय राज्य पश्चिम बङ्गालको एक निजी घरमा बम बनाइरहेको अवस्थामा भएको विस्फोटमा परी चार जनाको ज्यान गएको छ ।
भारतको उत्तरपूर्वी राज्यको एक घरमा बम बनाउने गरिएको र सोही क्रममा सोमबार विस्फोट हुँदा ती व्यक्ति मारिएका हुन् ।
पश्चिम बङ्गालको जउनपुरमा सो दुर्घटना भएको हो । उक्त घटनास्थल बङ्गलादेशको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रको जियासु शेख नाम गरेका व्यक्तिको घरमा बम बनाउने गरिएको तथ्य पनि यस विस्फोटसँगै खुलेको छ । उक्त राज्यका एकजना प्रहरी उपरीक्षक सइद वाकर राजाले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् ।
उनका अनुसार सो विस्फोटमा परी चारको ज्यान जानुको साथै अरु चार जना पनि नराम्ररी घाइते भएका छन् । घाइते हुनेमा बम बनाउने काममा सम्लग्न व्यक्ति परेका छन् । घाइतेको उपचार प्रहरी निगरानीमा भइरहेको बताइएको छ।
पश्चिम बङ्गालमा यसै अप्रिल महिनामा स्थानीय निर्वाचन भइरहेको छ। सो निर्वाचन आगामी मे ५ मा अन्त्य हुनेछ । निर्वाचनका समयमा हिंसात्मक घटना घटाउन यसरी निजी घरमा बम बनाउने गरिएको तथ्य खुलेको जानकारी पनि प्रहरी उपरीक्षण सइद वाकरले जनाएका छन् । रासस















प्रतिक्रिया