– दिलिप कुमार सिंह
लहान, १२ बैशाख । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनकै बलमा संविधान पुनर्लेखन हुने बताएका छन् ।
अध्यक्ष यादवले सरकारलाई समस्या समाधानको लागि दिइएको समय सिमालाई वेवास्ता गरेकाले अव आन्दोलनबाटै छिनोफानो हुने जिकिर गरे । सिरहाको गोलबजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने – ‘आफूहरु अझैपनि शान्तिपूण आन्दोलनकै पक्षमा छौं । राज्यले बन्दुकले दवाउने कोशिस गरे उसको नामोनिसान मेटिने छ ।’ उनले अगाडि थपे – ‘संसारभरी शान्तिपूर्ण आन्दोलन बन्दुकको बलका समाप्त भएको छैन, नेपालमा पनि नवौं आश्चर्य हुँदैन ।’
देशको दुई तिहाई जनतालाई पन्छाएर बनाएको संविधान मान्य नहुने बताउदै उनले भने – ‘ जवरजस्ती जारी भएको संविधानले मधेसी जनतालाई समेट्न नसकेको दुनियाले भनिसकेका छन् त्यसैलेपनि यो संविधानको पुनरलेखनको विकल्प छैन ।’ संविधान पुनर लेखन गर्न तराई, पहाड, हिमालका स्वशित पीडित जनता एक जुट हुनुपर्ने यादवको भनाई छ ।
पूर्वमन्त्री सहितका नेता फोरममा प्रवेश
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री शत्रुधन प्रसाद सिंह कोईरीसहितका नेता संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् ।
उनी फोरम लोकतान्त्रिकबाट नागरिक उड्यन तथा पर्यटन राज्यमन्त्री भएका थिए । मधेसमा आन्दोलन भइरहेका बेला आन्दोलनको भावना विपरित फोरम लोकतान्त्रिकका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा गएपछि उनीसहित जिल्ला कमिटीले पार्टी परित्यागको घोषणा गरेका थिए ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य शत्रुधन प्रसाद कोइरी सहित सिरहा जिल्ला अध्यक्ष रामचलित्तर साह लगायतका नेताहरु आइतवार संघीय समाजवादी फोरम प्रवेश गरेका छन् । नेता सिंह सिरहा क्षेत्र नम्बर ४ मा जनताको बलियो पकड भएको नेताको रुपमा चिनिन्छ । उनी संविधानसभाको पहिलो निवार्चनमा सिरहा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरमका कोषाध्यक्ष विजय यादव, केन्द्रीय सदस्य तथा पूर्व विना विभागीय मन्त्री राजलाल यादवले सम्वोधन गरेको थियो ।
सिरहामा संघीय फोरम बलियो हुँदै
गएको मधेस आन्दोलनले सिरहामा फेरी संघीय समाजवादी फोरम बलियो हुदै गएको छ । संविधानसभाको पहिलो निर्वाचनमा सिरहाको ५ वटा निर्वाचन क्षेत्रमा विजयी भएको तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल पछिल्लो मधेस आन्दोलन पछि फेरी बलियो हुने सम्भाबना देखिएको छ । संविधानसभाको पहिलो निर्वाचन पछि पटक पटक फुटेर विभिन्न पार्टीमा गएका नेताहरु अहिले फेरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फार्टीमा फर्कर्ने क्रम चलिरहेको छ ।
सिरहा क्षेत्र नम्बर २ मा बलियो नेताको रुपमा चिनिने नेता राजलाल यादव विभिन्न पार्टी हुँदै अहिले फेरि संघीय समाजवादी पार्टीमै फर्किएका छन् । उनी पहिलो संविधानसभामा विजयी भइ तत्कालिन मधेसी जनअधिकार फोरम फुटेपछि मधेसी जनअधिकार फोरमबाट विनाविभागीय मन्त्री बनेका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा समेत उनी नेकपा एमालेको नेता रामचन्द्र यादवको निकटतम प्रतिद्धन्दी रहे । उक्त क्षेत्रमा नेकपा एमालेबाट अहिले रामचन्द्र यादव सांसद छन् ।
त्यस्तै, संविधानसभाको पहिलो निर्वाचन पछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट नागरिक उड्यन तथा पर्यटन राज्यमन्त्री बनेका शत्रुधन प्रसाद सिंह कोइरी समेत अहिले संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । उनी सिरहा क्षेत्र नम्बर ४ मा लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन् । तर पार्टी पटक पटक फुटेका कारण संविधानसभाको दोस्रो निर्वाचनमा विजय नसकेको राजनीतिककर्मीहरु बताउछन् । तर उनी फोरम लोकतान्त्रिकबाट संविधानसभाको दोस्रो निर्वाचनमा आफ्नो प्रतिद्धन्दीलाई नजिकबाट चुनौति दिए । उनको क्षेत्रमा अहिले नेपाली काँग्रेसको उम्मेदवार रामचन्द्र यादव विजयी भएका छन् ।
एमालेबाट पनि फोरममा
संविधानमा अधिकारको माग गर्दै भएको पछिल्लो मधेस आन्दोलनमा बर्तमान सरकार कठोरता प्रदर्शन गर्दै दमन गरेको आरोप लगाउदै सिरहामा चर्चित युवा नेता सत्यनारयण यादव संघीय समाजबादी फोरममा प्रवेश गरे । उनी नेकपा एमालेलाई मधेस र संघीयता विरोधी भन्दै पत्रकार सम्मेलन मार्फत एमाले परित्यागको घोषणा गरेका थिए । उनी नेकपा एमालेमा हुदा चर्चित युवा नेताको रुपमा जिल्ला परिचित थिए ।
नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष र पार्टी सगरमाथा अञ्चल कमिटी सदस्य समेत भइसकेका यादव अहिले संघीय समाजबादी फोरममा सक्रिय छन् । उनी सिरहा क्षेत्र नम्बर १ मा प्रभावशाली छन् ।














प्रतिक्रिया