काठमाडौं । गणेश बेल्वासेको प्रस्तुति रहेको फिल्म ‘उहीले बाजेको पालामा’ले आफ्नो प्रचार प्रसारको कार्यलाई तीब्रता दिँदै आएको छ ।
यो फिल्मका कलाकार तथा निर्माता समेत रहेका बेल्वासले उपत्यका बाहिर झण्डै दुई साता लामो प्रचार प्रसार सकाएर राजधानी भित्रिएका छन् ।
सोमबार राजधानीभित्रिएका गणेशले अब इलेक्ट्रोनिक सञ्चारमाध्यमार्फत आफ्नो फिल्मको प्रचार गर्ने योजना बनाएको सुनाए । गणेश बेल्वासेको ‘उहिले बाजेको पालामा’ यही वैशाख २४ गते राजधानीमा र जेठ ७ गते उपत्यका बाहिरका फिल्महलहरूमा चल्दैछ ।
गणेशले फिल्म प्रचार प्रसारका क्रममा धादिङ, तनहु, पोखरा, बागलुङ, पाल्पा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, नारायणगढ, हेटौँडा, लालबन्दी, धरान, दमक, इटहरी, विर्तामोडलगायतका स्थानमा आफै पुगेर हल सञ्चालकसँग फिल्मका विषयमा परामर्श गरेका छन् ।
‘मेरो फिल्म चल्ने अधिकांश हलका सञ्चालकहरूसँग भेट गरेर फिल्मका विषयमा जानकारी गराएको छु’, बेल्वासेले भने, ‘हल सञ्चालकहरूले पनि फिल्मलाई चलाउन सहयोग गर्ने आश्वासन दिएका छन् ।’
फिल्म रिलिजको अन्तिम तयारी भइरहेका बेला बेल्वासेले अर्को फिल्मको तयारी पनि सुरू गरिसकेका छन् । त्यसका लागि सबै पक्षको सुझाव लिने कार्यभइरहेको बताए । ‘उहिले बाजेको पालामाबाट आएको शिक्षा र अनुभव तथा सबैको सल्लाहअनुसार अर्को फिल्म बनाउँदैछु’, उनले भने ।
फिल्मको नाम र विषयवस्तुका बारेमा बेल्वासेले यही वैशाख २० गते विशेष कार्यक्रम गरेर घोषणा गर्ने तयारी गरेको बताए ।
‘उहिले बाजेको पालामा’सँग दीपक ओलीद्वारा निर्देशित फिल्म ‘रोल्पा रोग’ जुध्दैछ । रोल्पा रोगले पनि आफ्नो प्रचार शैलीलाई फरक अवस्थाबाट अगाडि बढाइरहेको छ ।















प्रतिक्रिया