
– निशानदाजु भट्टराई
दाङ, ९ वैशाख । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले संघीयतासम्बन्धि एउटा महत्वपूर्ण प्रस्ताव सार्वजनिक गरेको हप्ता दिन बित्न नपाउँदै प्रतिपक्षी दल कांग्रेस वृत्तबाट विरोध सुरु भएको छ ।
एमालेको सल्लाहकार परिषद्ले ७ वटै प्रादेशिक राजधानीको खाका सार्वजनिक गरेको हप्तादिन बित्न नपाउँदै कांग्रेस बृत्तवाट विरोधका स्वरुहरु सुनिएको हो । एमालेको प्रादेशिक राजधानीको प्रस्ताव साझेदार दल एमाओवादी र प्रमुख प्रतिपक्ष दल काग्रेसलाई चर्को दबाब परिरहेका बेला कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ ले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने एमालेको प्रस्तावको विरोध गरेको छ ।
आइतबारमात्रै एमालेले केन्द्रीयस्तरबाटै संघीय नेपालका ७ प्रदेशहरुको उपयुक्त ठाउँलाई राजधानीमा प्रस्ताव गरेको थियो । जसमा प्रदेश नम्बर पाँचको राजधानी दाङलाई बनाउने प्रस्ताव गरिएको छ । यो प्रस्तावलाई स्वीकार गर्न प्रदेश पाँचबाट कांग्रेस, एमाओवादीसहितका दलहरुलाई दबाब परिरहेको बेलामा काग्रेस रुपन्देही क्षेत्र नम्बर ४ ले औपचारीक रुपमै एमालेको दाङ राजधानी बनाउने प्रस्तावको विरोध गर्दै प्रदेश नम्बर ५ को राजधानी दाङको सट्टा बुटबल बनाउनुपर्ने माग अघि सारेको छ ।
केन्द्रिय राजधानीका रुपमा चर्चित दाङलाई प्रादेशिक राजधानी बनाउने भनेर एमालेको पछिल्लोपटक गरेको निर्णयको चौतर्फीरुपमा स्वागत भइरहेका बेला काग्रेस रुपन्देहीको यस्तो भनाई बाहिर सार्वजनिक भएको हो ।
एमाले सल्लाहकार परिषदका केशव बडालको संयोजकत्वमा गठित समितिले प्रदेश नम्बर ५ को राजधानी रुपमा दाङलाई प्रस्ताव गरेकोप्रति कांग्रेस रुपन्देही क्षेत्र नम्वर ४ ले पत्रकार सम्मेलन गरी आफ्नो ध्यानाकर्षण जनाएको छ । पत्रकार सम्मेलन गर्दै कांग्रेस क्षेत्र नम्बर ४ रुपन्देहीले प्रदेश नम्बर ५ को राजधानी बुटवल नै हुनुपर्ने माग अगाडि सारेको छ । भोगौलिक बनावट, प्रसाशनिक र आर्थिक केन्द्रको आधारमा प्रदेश नम्बर ५ को राजधानी बुटवल नै उपयुक्त रहेको कांग्रेसको दाबी छ ।
पत्रकार सम्मेलनमा धारणा राख्दै नेपाली कांग्रेस क्षेत्र न ४ रुपन्देहीका सभापति हरि लम्साल, सचिव जोगबहादुर खत्री र नगरसभापति खेलराज पाण्डेलगायतले नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले प्रादेशिक राजधानी दाङ बनाउने भनेर गरेको निर्णयप्रति आपत्ति जनाउनुभयो ।
क्षेत्रीय सभापति हरि लम्सालले सरकारको नेतृत्व गरेको दल एमालेले प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने भनेर गरेको निर्णयप्रति आपत्ति प्रकट गर्दै लुम्बिनीबासीको हितविपरित रहेकाले यसक्षेत्रका एमाले नेताहरुको ध्यानाकर्षण समेत गराएका छन् । ‘एमालेले लगभग प्रादेशिक खाका यहि नै हो, पार्टीले आधिकारिक निर्णय नगरेपनि एमाले बृतमा त्यसको लबिङ शुरु भएको प्रष्ट भएकाले त्यसकोविरुद्ध लाग्न सबै दल र नागरिक समाजसमक्ष अपिल गर्दछु’ लम्सालले भन्नुभयो ।
उहाँले ५ नम्बरको राजधानी बुटवल र प्रदेशको नाम लुम्बिनी राख्ने कुरामा सबैको सहमति रहेकाले आफूहरुको भावनामाथि खेलवाड गरेमा आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो । ‘यदी हाम्रो कुरामा खेलबाड गरेर नागरिकमाथि बेइमानी गरेर प्रदेशको राजधानी दाङ पुर्याएमा आम नागरिकले चुनावका बेला यसको बदला लिनेछन्’ बिज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा काग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले भन्नुभयो– ‘हामी यो वा त्यो भन्दैनौं, हामीलाइ ५ नं प्रदेशको राजधानी बुटवल र नाम लुम्बिनी हुनुपर्छ ।’ क्षेत्रीय सचिव जोगबहादुर खत्री विक्रमले बोल्दै प्रादेशिक राजधानी बुटवल बनाउनका लागि अभियान थाल्ने बेला आएको बताउनुभयो ।
एमालेको केन्द्रीय सल्लाहकार परिषद्ले प्रदेश नम्बरको १ को राजधानी विराटनगर, २ को जनकपुरको ढल्केवर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को राजधानी अत्तरियालाई बनाउन केन्द्रीय कमिटीमा प्रस्ताव गरेको थियो ।












प्रतिक्रिया