३१ आश्विन २०८३, शनिबार

माओवादीसँग लडेको सेनाका ‘लेस नायक’ यसरी भए ‘नायक’

70.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh Belbase Dangकाठमाडौं । गणेश बेलवासे कुनै बेला नेपाली सेनाको जागिरे हुन् । उनको परिचय अहिले फेरिएको छ । उनी पूर्वसैनिक भए पनि अहिले उनी फिल्मी कलाकार हुन् ।

२०५४ सालमा नेपाली सेनामा प्रवेश गरेका गणेशले साढे सात वर्ष जागिर खाए । तत्कालीन विद्रोही नेकपा (माओवादी)सँग आधा दर्जन मुठभेड परे । र, बालबाल ज्यान पनि जोगाए ।

माओवादी विद्रोहीसँग लडेकै कारण गणेशलाई पश्चिमाञ्चलका तत्कालीन पृतनापति चित्रबहादुर गुरुङले शान्तिसेनामा पठाए । हालका महासेनानी भरत कार्कीले समेत गणेशलाई शान्तिसेनामा पठाउनुपर्ने भन्दै गुरुङसमक्ष सिफारिस गरेका थिए । उनले भने, ‘त्यही लडाइँका कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट प्रशंसनीयपट्ट पदक पाएँ । त्यसमा नगद पनि थियो ।’

उनले आफ्नो जागिरको अनुभव सुनाउँदै भने, ‘नेपाली सेनामा लागेर राम्रो काम गरे, दक्षता पनि देखाए, शान्ति सेनामा पनि गएँ, कलाकारिताले मलाई सधै तानिरह्यो, अन्तमा ०६१ साल भदौ महिनामा जागिर छाडेर कलाकारिता क्षेत्रमा सक्रिय भएँ ।’

गणेशले रुकुमको खारा, रोल्पाको लिस्ने, सुर्खेतको जहरे, दशरथपुर र काल्चे लेक तथा धादिङ जिल्लाका विभिन्न स्थानमा भीडन्तमा परेका थिए । अहिले ती स्मरण आफूलाई कताकता मिठो अनुभव सरह मनमस्तिष्कमा आइरहने सुनाउने गणेशले भने, ‘नेपाली सेनाको त्यो बेलाका जागिरको अनुभव ताजै जस्तो लाग्छ । बालबाल ज्यान जोगिए जस्तो लाग्छ ।’

उनलाई रुकुमको खारामा माओवादीले हानेको बन्दुकको गोली लागेर दाहिने कान छेडेको थियो । कान छेडिएपछि उनलाई छ महिना वीरेन्द्र सैनिक अस्पतालमा उपचार गरिएको थियो । अहिले पनि उनले दाहिने कान छाम्दै खाराको भीडन्त स्मरण गर्छन् । त्यस बेला माओवादीसँग लडेका उनले भने, ‘अहिले माओवादीका लडाकु, कमाण्डर र केन्द्रीय नेताहरूसँग भेट हुन्छ तर, कुनै त्यस्तो रिसराग आउँदैन । उनीहरूले जे सपना देखाएर जनता भिडाएका थिए त्यो पूरा नभएकोमा भने म आफैलाई पनि माओवादी जनयुद्ध गलत रहेछ भन्ने लागेको छ ।’

सेनाका लेस नायक(प्यूठ) भएका गणेशलाई अहिले कलाकारितामा नायकका रुपमा चिनिन्छ । उनले बनाएको फिल्म ‘उहिले बाजेको पालामा’ रिलिजको अन्तिम तयारीमा छ । यही वैशाख २४ राजधानीभित्र र चैत ८ गते उपत्यका बाहिरका फिल्म हलहरूमा लाग्दैछ ।

नेपाली सेनाको जागिरकै क्रममा गणेशले ब्यारेकभित्रै नाचगानलगयातका साँस्कृतिक कार्यक्रममा भाग लिने गरेको उनले सुनाए । भने, ‘ब्यारेकभित्र हुने साँस्कृतिक कार्यक्रममा मलाई अगाडि सारिन्थ्यो । मेरो कलाकारिताकै लगनले अहिले यो अवस्थासम्म आइपुगेको छु ।’ उनले नेपाली सेना र सेनाको जागिरमा अहिले पनि उत्तिकै गर्व गर्छन् । भन्छन्, ‘नेपाली सेनाकै कारण यहाँसम्म आइपुगेको हुँ ।’

स्कुलको पढाइदेखि नै गणेश दाङको घोराहीस्थित लाङ्घाली युवा क्लवमा आवद्ध थिए । मावि रझेना र पद्मोदय पब्लिक उच्च माविमा अध्ययन गरेका उनले विद्यालयहरूमा पनि साँस्कृतिक कार्यक्रममा सहभागी हुन्थे ।

‘उहिले बाजेको पालामा’ फिल्म बनाउनु पूर्व गणेशले ‘स्वर्गद्वारी महाप्रभु’ फिल्म बनाउने तयारी गरेका थिए । तर, स्वर्गद्वारी आश्रम व्यवस्थापन समिति र महन्थ भागवतानन्द गिरीको गलत हठका कारण सो फिल्म बन्न नसकेको गणेशको अनुभवन छ ।

‘फिल्म बनाउँदा सकेसम्म आफ्नै गाउँठाउँको मन्दिरको प्रचार होस् भनेर फिल्म बनाउन खोजेको थिएँ, त्यो मेरो भाकल पनि थियो, तर, लोभीपापीहरूले महाप्रभुको नाममा फिल्म बनाउँन दिएनन् , सायद मन्दिरभित्रको गलत कुरा बाहिर आउँछ कि भनेर डराएर फिल्म बनाउन नदिएको हुनपर्छ’, गणेशले भने ।

‘उहिले बाजेको पालामा’मा रिलिज हुँदै गर्दा उनले आफ्नै होम प्रोडक्सनमा अर्को फिल्मको घोषणा गर्दैछन् । उनले यही वैशाख २० गते काठमाडौंमा विशेष कार्यक्रम गरेर फिल्मको नाम र कथावस्तुका बारेमा जानकारी गराउनेछन् ।

प्रस्तुतिः विमल योगी