३१ आश्विन २०८३, शनिबार

फिल्म निर्माता चुस्ने नामी ‘उडुसहरू’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

'पप कर्न'का माधव वाग्ले प्रियंकासँग कुरागर्दै
‘पप कर्न’का माधव वाग्ले प्रियंकासँग कुरागर्दै

काठमाडौं, ९ वैशाख । नेपाली फिल्म महिनामा कम्तिमा दुईदेखि छ वटासम्म बन्ने गरेका छन् । बनेका फिल्महरू निर्माण गर्न जति चुनौति छ, त्योभन्दा धेरै चुनौति फिल्म देखाउनमा छ ।

फिल्म हलमा चलाउनका लागि ठेक्का लिएका औलामा गन्न सकिने ठेकेदारका कारण निर्माताहरूले आफ्नो मूल्य पाउन सकेका छैनन् । यो गुनासो लामो समयदेखि हुँदै आएको छ । गुनासो आए पनि त्यसको निराकरण हुन सकेको छैन ।

फिल्म वितरकहरूले निर्माताहरूलाई समयमा पैसा नदिने र दिए पनि थोरै दिने गरेको पीडित निर्माताहरू बताउँछन् । ‘फिल्म वितरकहरू निर्माता चुस्ने ‘उडुस’ हुन्’–एक जना निर्माताले भने । फिल्म वितरकहरूलाई राम्रो सम्मान र पैसा नदिने हो भने उनीहरूले रिलिज ‘डेट’ नै दिँदैनन् ।

मनोज राठी
मनोज राठी

तर, कसैले यी वितरकहरूलाई दबाब दिने हो वा धम्की दिने हो भने डराएर ‘डेट’को समय दिन्छन् भन्ने आरोप पनि छ । राजधानीका मल्टिप्लेक्सहरूमा गोविन्द शाही र ‘पप कर्न’ नामक संस्थाले सिन्डिकेट लागू गरेका छन् । शाही र ‘पप कर्न’ बीचको सहमतिले फिल्म निर्माताहरू डुब्नसम्म डुबेका छन् ।

‘पप कर्न’ माधव वाग्ले, प्रचण्डमान श्रेष्ठ र दीपेन्दकुमार खनालको लगानीमा सञ्चालित संस्था हो ।

निर्माता चुस्ने अर्को संस्था हो ‘एफडी’ अर्थात फिल्म डिष्ट्रिब्यूशन । यो संस्थामा हाल नरेन्द्र महर्जन अध्यक्ष छन् । उपत्यका बाहिरका फिल्म हलहरूमा ‘एफडी’मार्फत फिल्म चलाउँदा धेरै हलमा लाग्ने र कमाइ हुने धेरैले अपेक्षा गरेका हुन्छन् ।

तर, यो ‘एफडी’ निर्माताहरूको सबैभन्दा ठूलो दुश्मन हो । यो मार्फत फिल्म लगाउनुपर्ने निर्माताहरूको बाध्यतालाई सानातिना वितरकले चुनौति दिन सकेका छैनन् ।

‘एफडी’मा प्रदीप उदय, रेखा थापा, सुशील पौडेल, बिक्रम पराजुली, कपिल दवा, छविराज ओझा, लोकेन्द्र कार्की लगायत उपत्यका बाहिर फिल्म हल भएका मालिकहरूको शेयर रहेको भनाइ छ । मनोज राठी र उज्जल पौडेलले पनि संयुक्त रुपमा मिलेर उपत्यका बाहिर फिल्म लगाउने गर्छन् । तर, उनीहरूलाई ‘एफडी’ले पछाडि पारिसकेको छ ।

‘एफडी’का मालिकहरू
‘एफडी’का मालिकहरू

उपत्यकाका सिङ्गल हलहरूमा बीके फिल्मस्का गोपाल कायस्थ र बालाजी फिल्मस्का सुनिल मानन्धरले पनि सिन्डिकेटमार्फत फिल्म लगाउने गर्छन् । कायस्थ र मानन्धरले पनि निर्मातालाई हदैसम्म चुस्ने गरेको आरोप छ ।

साना फिल्म वितरण गर्दैै आएका आरआर फिल्मस्का रोहित र रत्नले पनि नयाँ निर्मातालाई मुर्गा बनाउँदै आएका छन् । रोहित र रत्नले साना लगानीमा बनेका फिल्मका निर्मातालाई फिल्म चलाइदिन्छु भन्दै बैधानिक रुपमा रकम लुटेर खाने गरेको फिल्म निर्माताहरूको आरोप छ ।

नेपाली फिल्म वितरणको जिम्मा लिएका यी माथिका नाम रहँदासम्म निर्माताहरूको कहिल्यै भलो नहुने एक निर्माताले बताए । ‘हामीले केही भन्ने अवस्था छैन’, नाम उल्लेख नगर्ने सर्तमा ती निर्माताले भने–‘यी वितरकहरूलाई कुनै कुनै माध्यममार्फत खुसी नबनाउँदासम्म फिल्मले रिलिज ‘डेट’ नै पाउँदैन । बरु फिल्म रिलिज होस् लगानी उठेपनि/नउठेपनि आफ्नो इज्जतका लागि फिल्म दिनुपर्ने बाध्यता छ ।’

अबका दिनमा नयाँ फिल्म निर्माताले यो विषयलाई ध्यानमा राखेर निर्माणमा जानुपर्ने समीक्षकहरूको भनाइ छ । यसरी निर्माता चुस्ने वितरकका विरुद्धका कुनै समाचार बाहिर आउँदैनन् । उनीहरूले दिएको पीडा पनि बाहिर आउने गरेको छैन । अबका दिनमा वितरकका गलत सूचना सञ्चारमाध्यमहरूले दिनुपर्ने ती निर्माताले बताए ।