३१ आश्विन २०८३, शनिबार

अब सम्झनामा मात्र छन् इन्सपेक्टर दुर्गाबाबु पाठक (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

durgababu– शैलेन्द्र थापा

हजुरको देशमा हजुरकै मर्जी
म त हजुर दुई दिनको पाहुना

साँच्चै यी गीतका शब्द जस्तै मिठो स्वरका धनी सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक दुई दिनको पाहुना जस्तै गरी अल्पायुमै यस धर्तीबाट टाढा भएका छन् ।

गत बैशाख २८ गते चितवनबाट काठमाडौं आउने क्रममा धादिङ्गको मलेखु स्थित पृथ्वीराजमार्गमा भएको अकल्पनीय सडक दुर्घटनामा परी पाठकको निधन भएको हो । विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा विशेष गरी आधुनिक संगीततर्फ आफ्नो नाम चम्काउदै गरेका पाठक गायक, संगीतकार तथा रचनाकार समेत थिए । आफै गीत लेख्ने संगीत भर्ने र त्यसलाई मिठो स्वर दिने क्षमता उनमा थियो ।

चितवन जिल्ला स्थित शिवनगरमा २०४१ सालमा जन्मिएका पाठक २०६४ साल असार ६ गते सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट प्रवेश गरेका थिए । सानै उमेरदेखि गीत संगीतमा रम्न चाहने दुर्गाबाबु पाठक २०६०/०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ्ग स्टारमा उकृष्ट दशभित्र समेत पर्न सफल भएका थिए । यस्तै चितवन मै सम्पन्न आठौं कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिस्टको उपाधि समेत हात पारेका थिए ।

Durga-Pathak (3)

आधुनिक संगीततर्फ विशेष रुचि राख्ने पाठक प्राय सबै प्रकारका गीत गाउने दक्षता राख्दथे । उनले यसअघि ‘पंक्षी’ र ‘निद्रा लाग्दैन’ गरी दुईवटा एल्वम बजारमा ल्याईसकेका छन् । जसमा उनले चर्चित गायिका अन्जु पन्तसँग सयुंक्त स्वर दिएका छन् भने म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी तथा निता ढुंगानालाई देख्न सकिन्छ । उनले गाएका हजुरको देशमा, पलपल तिम्रो यादले, निद्रा लाग्दैन आदि गीतका म्युजिक भिडियो यु–ट्युबमा समेत हेर्न सकिन्छ ।

२०६४ सालबाट सशस्त्र प्रहरी अधिकृत बनेका उनी आफ्ना साथीभाई माझ समेत उत्तीकै लोकप्रिय मानिन्थे । कडा प्रकृतिका तालिममा पनि आफ्नो दुःख र थकानका बाबजुत थकित साथीहरुलाई मिठो गीत गाएर उर्जा थप्ने कार्यमा पाठक कहिल्यै पछि परेनन् ।

Durga-Pathak (4)संगठनमा समेत अत्यन्तै अनुशासीत, कर्तव्यनिष्ठ, पेशागत रुपमा दक्ष र जिम्मेवार अधिकृतका रुपमा गनिन्थे सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठक । यसका साथै संगठनमा भविष्य बोकेका सहयोगी एवं सहृदयी अधिकृतका रुपमा समेत परिचित थिए ।

फुटबल तथा क्रिकेटका समेत राम्रो खेलाडी उनी क्यारीकेचर गर्न, गितार बजाउन तथा अन्य क्रियाकलापमा समेत अब्बल मानिन्थे । उनले पंक्षी एल्वममा गायका शब्द जस्तै आफ्ना साथीभाई माझ भने मिठो सम्झना छोडेर गएका छन् । यी गीतका हरफ जस्तै…

मरेर गए ईश्वरको बरदान
बाचुञ्जेल नहोस् केही कमी
आजको मिलन भोलीको छुटन
सम्झना रहिरहोस् नौ जुनी

अल विदा सशस्त्र प्रहरी निरीक्षक एवं गायक दुर्गाबाबु पाठक

Durga-Pathak (2)   Durga-Pathak (1)