१ कार्तिक २०८३, शनिबार

नामिबियालाई घरेलु मैदानमा हराउन नेपालको यस्तो प्लान, पारसले भने- निराश बनाउँदैनौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket- Nepal-team

– मुना कार्की/दीपेन्द्र सापकोटा
काठमाडौँ, ४ वैशाख । नेपाली क्रिकेट टोलीले नामिबियासँग विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो चरणको खेल खेल्दै २०७३ सालको उद्घाटन गर्नेछ ।

विसं २०७२ मा सिनियर टोलीले उत्साहजनक प्रदर्शन गर्न सकेन । त्यसको क्षतिपूर्तिस्वरुप यस पटक घरेलु मैदानमा नामिबियालाई हराउँदै २०७३ सालको सुखद् सुरुआत गर्ने आशा गरिएको छ । नेपाली टोली आज शनिबार बिहान कीर्तिपुरस्थित टियु मैदानमा नामिबियाविरुद्ध उच्च मनोबलका साथ उत्रने विश्वास गरिएको छ ।

जारी प्रतियोगितामा (च्याम्पियनसिप)अन्तर्गत गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निराशा भोगेको नेपाल नामिबियाविरुद्धको खेल जितेर अगाडि बढ्ने मौका खोज्दैछ । नेपाली टोलीका प्रशिक्षक जगतबहादुर टमाटाले सबैले राम्रो मेहनत गरिरहेकाले खेलमा जित हासिल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै खेलाडी मेहनत गरिरहेका छन्, हामीलाई घरेलु मैदान र दर्शकको साथ हुनेछ, त्यसैले जितकै लागि खेल्नेछौँ ।”

यसअघि भएका पहिलो चरणका दुवै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको नेपाल अझै अङ्कको खोजीमा छ । अर्कातिर समान चार खेल नै खेलेको नामिबियाको एक जितका साथ २ अङ्क छ ।

एक दिवसीय खेलमा नेपाल र नामिबिया यसअघि दुई पटक भिडेका छन् । गतवर्ष नामिबियामै भएको आइसिसी विश्व लिग क्रिकेट ‘डिभिजन–टु ’मा नेपालले घरेलु टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको थियो भने सन् २००१ मा क्यानडामा भएको आइसिसी ट्रफीको समूह चरणको खेलमा नेपाल पराजित भएको थियो ।

त्यस्तै नेपालका लागि जारी प्रतियोगिताको खेल घरेलु मैदानमा पहिलो पटक हुन लागको हो । यसअघि सन् २०१० मा भएको भएको ‘डिभिजन–फाइभ’ भए यता आइसिसीको आधिकारिक प्रतियोगिता नेपालमा हुन सकेको थिएन ।

नामिबियाविरुद्धको खेल हेर्न टिकट हात पारेका नेपाली क्रिकेटप्रेमी निकै दङ्ग छन् । उनीहरुको आशा छ नेपालले खेल जित्नेछ र टिकट काटेर खेल हेरेको अर्थ हुनेछ । टिकट काउन्टरमा टिकट काट्न बसेका आयुष कार्की भन्नुहुन्छ, “टिकट काट्न आएका युवा दर्शकको उत्साह देख्दा लाग्छ नेपालले विश्वकप नै खेलिरहेको छ ।”

यता नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का घरेलु समर्थकलाई निरास नबनाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसअघिको नतिजा जे जस्तो आए पनि यो पटकको खेलमा राम्रो नतिजा ल्याउँदै नेपाली क्रिकेट प्रेमीलाई खुसी बनाउन सक्दो प्रयास गर्नेछौँ ।”

यदि नेपालले शनिबार र सोमबार हुने दुई खेलमा नामिबियालाई पराजित गर्न सके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ । च्याम्पियनसिपमा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ ।

दश हजार टिकट बिक्री

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नामिबियाबीचको आजको खेलका लागि करिब १० हजार टिकट बिक्री भएको छ ।

करिब १२ हजार दर्शक क्षमता भएको टियु क्रिकेट मैदानमा हुने खेलका लागि सर्वसाधारणका लागि मात्र उक्त हजार टिकट सङ्ख्या बिक्री भएको हो । अन्य विशिष्ट पाहुना तथा क्रिकेटसँग सम्बन्धित व्यक्तिलाई ‘पास’को व्यवस्था गर्नुपर्ने भएकाले सर्वसाधारणका लागि शुक्रबारदेखि टिकट बिक्री बन्द गरिएको टिकट बिक्री तथा व्यवस्थापन गरिरहेको इ–सेवा फोन–पे प्रालिका बजार व्यवस्थापक राजु अर्यालले बताउनुभयो ।

खेलकुद विकासका लागि सम्झौता

नेपाल र हङकङबीच खेलकुद विज्ञान विकास तथा विस्तारका लागि शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट र खेलकुद विज्ञान प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक डा प्रकाश प्रधान तथा हङकङका तर्फबाट हङकङ स्पोर्टस इन्सटिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा तृशा लिहीले हङकङमा आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

सम्झौतानुसार खेल विज्ञान र चिकित्सा अनुसन्धान क्रियाकलापमा दुई देशबीचमा सहकार्य गर्ने, खेलकुदको उच्च नतिजा हासिल गर्नको लागि विज्ञ÷विशेषज्ञ आदानप्रदान गर्ने तथा खेल प्रशिक्षण विज्ञान, परीक्षण र प्रतियोगिताको नयाँ प्रविधि विकासको लागि विज्ञ÷विशेषज्ञ एक अर्कामा खटाइने छन् । रासस