काठमाडौं, ३ वैशाख । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूले गुटबन्दी गरेको आरोपको कडा शब्दमा प्रतिवाद गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरुले लगाएको गुटबन्दीको आरोपको कडा शब्दमा प्रतिवाद गर्नुभएको हो । उहाँले नेताहरु नेपाल र खनालप्रति लक्षित गर्दै आफूलाई फर्कि फर्कि पुरानै पदमा जाने इच्छा नरहेको बताउनुभयो ।
‘मलाई फर्किफर्कि पुरानो पदमा जानु छैन । त्यसैले गुटबन्दी गरिरहनु पनि छैन । पद दिएको बेला अनुभव हासिल गरिरहने, कामका लागि अर्को कार्यकाल चाहिने ?’ अध्यक्ष ओलीको भनाई उदृत गर्दै एमाले नेता विष्णु रिमालले ट्वीट गर्नुभएको छ ।
लामो समय पार्टीको नेतृत्व गरेका माधवकुमार नेपाल फेरि अध्यक्षका आकांक्षी देखिएकोतर्फ उहाँको व्यङ्ग्य थियो ।
यसअघि हिजो बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा नेता नेपाल र खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली एकलौटी ढंगले अघि बढेको, कार्यकर्ताहरुमा गुटबन्दी गराएको र सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो ।















प्रतिक्रिया