उसलाई के थाहा जो बियर बारमा – ह्विस्की, बियर, फेन्टा र कोकमा डुबेको छ
खोटाङमा बस अनि डोटी जिप दुर्घटनाले – आज नेपाल शोकमा डुबेको छ ।
विश्व विज्ञानमा चुली चुम्दैछ – तर हामी आपसी बैमनस्यतामा
यस्तै छ लाग्छ हाम्रो शिक्षा – कितावी ज्ञान घोकमा डुबेको छ ।
अनुपम् उपहारको पूर्णता– प्रकृतिको धनी यो मेरो देश
वातारण पनि त उस्तै दुर्गन्धित –गल्ली र चोकमा डुबेको छ ।
आविष्कार, अनुसन्धान सपना नै नदेख्ने – कुरा मात्रै चिल्ला
हो आज मेरो देश – उखान टुक्का र जोकमा डुबेको छ ।
न कुटनीति, न त समन्वय नै दरिलो – बेअर्थको सौदाबाजी
बुद्धिमा चाहीँ किरा परेको – रिस अनि झोंकमा डुबेको छ ।
आउँदैन कोइलाई सत्बुद्धि यहाँ – गर्नेहरुका खुट्टा काटिन्छ
हो साँच्चै बिग्रेपछि पछुताउँदै – जिब्रो टोकमा डुबेको छ ।
विकास–विकास भन्ने मात्रै – सिन्को पनि नभाँच्नेलाई
अपराध, भ्रष्टाचार अनि अनियमितता – सबै रोकतोकमा डुबेको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, सडक – अनि विद्युत् क्षेत्र
होला केही अपवाद बाहेक – प्राय सबै थोकमा डुबेको छ ।
हुनेलाई के को अभाव यहाँ – सधैं फालाफाल हुन्छ
आज दुर्गम रस्तीबस्ती – साह्रा भोकमा डुबेको छ ।
कोइको कथा यस्तो पनि छ – स्वास्थ्य संस्था देखेकै छैनन्
टाउको दुख्दा सिटामोल छैन – स–साना रोगमा डुबेको छ ।
राज्य के हो थाहै छैन – त्यस्ता गाउँबस्ती पनि छन्
न त स्वर्ग, न त नर्क – खै कुन लोकमा डुबेको छ
यस्तै–यस्तै कथा बन्छ नेपालको – खै कुन लोकमा डुबेको छ ।
– झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल, डोटी
हाल : दि.सि.न.पा.–१, शैलेश्वरी टोल, सिलगढी, डोटी















प्रतिक्रिया