सोलुखुम्बु, २९ चैत । नियमित वृद्ध भत्ता पाइरहनुभएकी काँकुकाँकु–४ की ९६ वर्षीया लक्ष्मीमाया तामाङले चार वर्षअघिबाट त्यो भत्ता पाउनुभएन ।
यसको एउटै कारण उहाँसँग नागरिकता थिएन । पहिले गाविसको सिफारिसमा भत्ता पाएको भए पनि चार वर्षअघि नागरिकता अनिवार्य भएपछि भत्ता पाउन वञ्चित तामाङले आफ्नो नागरिकता बनाइदिन धेरैसँग अनुरोध गरे पनि वृद्धालाई बोकेर पाँच घन्टाको बाटो सदरमुकाम ल्याउन कसैले मन लगाएनन् ।
भत्ताको आशामै बसिरहेकी वृद्धालाई प्रजिअ कृष्णप्रसाद शर्माले घरमै पुगेर नागरिकता दिँदा आँखाबाट आँसु खसाल्दै भन्नुभयो, “म त नागरिकता नभई मर्छु भन्ने लागेको थियो, बाबुको जय होस्” । उहाँले नागरिकता लिँदै अब भत्ता पाइन्छ नि भनेर सोध्दा गाविस सचिव नरबहादुर बुढाले भन्नुभयो – “अब प्रक्रिया सुरु गर्छु, अवश्य पाउनुहुन्छ ।”
काँकुकी लक्ष्मीमाया जस्तै देउसा–६ की ८४ वर्षीया गोठमाया तामाङले पनि घरमै नागरिकता पाउनुभयो । प्रजिअसहितको टोली वृद्धाको घरमै पुगेर नागरिकता दिँदा उहाँले पनि खुसी हुँदै भन्नुभयो – “मर्ने बेलामा नागरिकता देखियो, सायद अब स्वर्ग नै गइन्छ होला । ” प्रजिअ शर्माले काँकुकै ८३ वर्षीया पुतली तामाङ र २१ वर्षीय एक दृष्टिविहीनलाई पनि घरमै पुगेर नागरिकता दिनुभयो ।
एकीकृत घुम्ती शिविरको क्रममा यही हप्ता काँकु पुग्नुभएका प्रजिअ शर्माले ती वृद्धवृद्धा शिविरसम्म पनि आउन नसकेको खबर पाएपछि घर घरमै गएर नागरिकता दिनुभएको हो । यस्तै चैतको पहिलो हप्ता घुम्ती शिविरका क्रममा जिल्लाको भकान्जे गाविसमा पुग्दा त्यहाँ पनि दुई वृद्धवृद्धालाई नागरिकता र एक जनालाई अपाङ्गता परिचयपत्र घरमै गएर दिइएको थियो ।
सरकार हाम्रै हो भन्ने भान स्थानीय नागरिकलाई गराउन र वृद्धवृद्धालाई राज्यको सुविधा दिन आफूले पहाडको कठिन बाटामा पनि घरमै गएर नागरिकता लगायत प्रमाण दिएको प्रजिअ शर्माले बताउनुभयो । रासस













प्रतिक्रिया