१७ कार्तिक २०८३, मंगलबार

सार्वभौमसत्ताको रक्षा गर्नु राष्ट्रिय सेनाको कर्तव्य: उपराष्ट्रपति पुन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasang

काठमाडौँ, २६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रियता, सार्वभौमिकता र देशको भौगलिक अखण्डता जोगाउनु हरेक राष्ट्रिय सेनाको प्रमुख कर्तव्य रहेको बताउनुभएको छ ।

भूतपूर्व सैनिक महासङ्घ, नेपालको ‘पाँचौ राष्ट्रिय सम्मेलन’ को आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, भौगलिक अखण्डता र नेपाली जनताको सार्वभौमिकतालाई बचाउन पटकपटक लडेको इतिहास रहेको रहेको बताउनुभयो ।

नेपाली सेना दक्षिण एसियाकै पुरानो सङ्गठित सैन्य शक्ति भएको उल्लेख गर्दै उहाँले जुनसुकै मुलुकको राष्ट्रिय सेना राष्ट्रिय चरित्रको हुनुपर्ने र क्रमशः नेपाली सेना राष्ट्रिय चरित्रको बन्दै गएको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, “नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको आह्वानमा विभिन्न मुलुकमा शान्ति स्थापनार्थ शान्ति सेनाको रुपमा अनुशासित, मर्यादित, इमान्दार र बहादुरीताकासाथ कर्तव्य पालन गरिरहेको छ । गौतम बुद्धकोे देश नेपालबाट विश्वलाई शान्तिको सन्देश प्रवाह गरिरहेका छौँ । नेपालको शान्ति प्रक्रियालाई मौलिक रुपमा टुङ्ग्याएर पनि विश्वलाई शान्तिको सन्देश दिएका छौँ ।”

उपराष्ट्रपति पुनले भन्नुभयो, “भूतपूर्व सैनिकको पिरमर्काकालाई सम्बोधन गर्न आफ्नोतर्फबाट प्रयत्न गर्छु । मैले पनि आफ्नो महत्वपूर्ण समय सैन्य जीवनमा बिताएको यहाँहरुलाई अवगत नै छ । यस कार्यक्रममा बोल्दै गर्दा मैले आफूलाई पनि एकजना भूतपूर्व सैनिककै रुपमा लिइरहेको छु ।”

शान्तिप्रक्रियालाई टुङ्ग्याउँदा राष्ट्रिय सेनामा तत्कालीन विद्रोही सेनालाई समायोजित गरेको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले नेपाली सेना र तत्कालीन विद्रोही सेनाको सकारात्मक सोचका साथ भएको सेना समायोजनमार्फत नै नेपालको शान्ति प्रक्रियाको प्रमुख काम टुङ्गिएको उक्त प्रक्रिया मौलिक शान्ति प्रक्रिया भएकाले द्वन्द्वरत विश्वका अन्य मुलुकले पनि अनुसरण गर्न सक्ने बताउनुभयो ।

सम्मेलनमा नेपाली, भारतीय, बेलातीय सेना र सिङगापुर प्रहरीबाट अवकाश प्राप्त १५० जना भूपू सैनिक सहभागी छन् । सम्मेलन शनिबारसम्म चल्नेछ । रासस