काठमाडौं, २६ चैत । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धेश्य एउटै भएकोले दुवै संगठनले एकै भावनाका साथ दायित्व निर्वाहमा अग्रसर रहने बताउनु भएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु अर्याल र राईले शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित आठांै सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितको समापन कार्यक्रममा दुवै संगठनले मिलेर दायित्व निर्वाह गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन योगदान पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा सशस्त्र प्रहरी बलले आफूलाई सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोलाएकोमा व्यक्तिगत रुपमा मात्रै सम्मानको रुपमा नलिई नेपाल प्रहरी प्रतिकै सौहार्दताको रुपमा आफुुले लिएको उल्लेख गर्नुभयो ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अनुहार दुईवटा होला, तर समग्र उद्धेश्य एउटै छ’ महानिरीक्षक अर्यालले भन्नुभयो– ‘चिन्ह, रुप र नाममा दुई रुप भएपनि उद्धेश्य एउटै भएकोले शान्ति सुरक्षा कार्यमा दुवै संगठनको भावना सधै एक रहनुपर्छ ।’ उहाँले सामुहिक भावनाको लागि नेपाल प्रहरीको तर्फबाट वचनवद्धता दोहोर्याउन चाहन्छु भन्नुभयो ।
कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामुहिक प्रयासका साथ शान्ति सुरक्षा कार्यमा योगदान पुर्याई रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दुवै संगठनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ भन्नुहुँदै महानिरीक्षक राईले अर्याल र आफु एकै व्याचका भएका कारण पनि सांगठानिक जिम्मेवारी निर्वाहमा ज्यादै सहजता रहेको चर्चा गर्नुभयो । ‘एक सिक्काको दुई पाटाको रुपमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षाको क्षेत्रमा सधै मिलेर योगदान पुर्याई रहने छ’ महानिरीक्षक राईले सशस्त्र प्रहरी बलको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा संचालित उक्त लनटेनिस प्रतियोगितको विजयी खेलाडीहरलाई पुरस्कार वितरण पछि दुवै संगठनका महानिरीक्षकहरु अर्याल र राईले सशस्त्र प्रहरी बलले नेपालको खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको स्मरण तथा चर्चा गर्नुभयो ।
त्यसअवसरमा उहाँहरु दुवै जनाले आ–आफ्नो मन्तव्यको क्रममा खेलमा जसरी टीमको भावना हुन्छ, त्यसैगरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा समेत दुवै संगठनको भावना एउटै हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
देशका पाँचै क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका विभिन्न इकाईहरुमा श्रव्यदृश्यसहित निःशुल्क प्रसारण हुने ‘लाईभ भिडियो स्ट्रीमिङ’मार्फत प्रत्यक्ष प्रसारण गरिएको सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्वागत मन्तव्यको क्रममा सशस्त्र प्रहरी बलले व्यावसायिक जिम्मेवारी निर्वाह संगै खेलकुदको क्षेत्रमा समेत विशिष्ट योगदान पुर्याएको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु लगाएत विभिन्न महानुभावहरुको समेत उपस्थिति रहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी अजय छतकुलीले जानकारी दिए ।
















प्रतिक्रिया