२५ कार्तिक २०८३, बुधबार

राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै राष्ट्रवादी शक्ति मिलेर सामना गर्नुपर्छः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoकाठमाडौँ, २५ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डतालाई सुदृढीकरण गर्ने कार्यमा सबैको सार्थक सहयोगको जरुरी रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको सम्मानमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को प्रारम्भिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो दिनमा नेपालको सार्वभौमसत्ता र अखण्ताविरुद्ध विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबै राष्ट्रवादी शक्तिले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानको सहज कार्यान्वयनका लागि राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने र मुलुकभित्रका विभिन्न असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले मधेसवादी दलका जायज माग सम्बोधन हुने स्पष्ट पार्नुभयो ।

माओवादी आन्दोलनलाई पुनःएकीकरण गरेर लैजाने दिशामा आफू लागेको भन्दै उहाँले केही समय भित्रै सम्पूर्ण माओवादी शक्ति एउटै केन्द्रमा आउने छन् भन्नुभयो । माओवादी घटकबीचको एकता प्रक्रिया तार्किक निष्कर्षको नजिक पुग्न लागेको दाबी गर्दै उहाँले अब छुट्टाछुट्टै बसेर केही पनि फाइदा नहुने, देश र जनताको समेत हित नहुने उल्लेख गर्नुभयो ।

एमाओवादीले महासचिव कृष्णबहादुर महराको नेतृत्वमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान स्थापना गरेको छ । गरिब तथा न्यून आय भएको परिवारबाट कम्युनिस्ट आन्दोलनको उच्च पदमा पुग्नुहुने बोगटीको विचारलाई स्थापित गर्न र माओवादी आन्दोलनलाई पुनःएकीकरण गर्ने ध्येयका साथ प्रतिष्ठान स्थापना भएको महासचिव महराले जानकारी दिनुभयो ।

मस्तिष्कघात र हृदयघातका कारण २०७१ साल भदौ ३० गते बोगटीको निधन भएको थियो । बोगटी एमाओवादीका उपाध्यक्ष हुनुहुन्थ्यो । रासस