काठमाडौं, २१ चैत । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका सांसदहरुको राजधानीमा सम्पन्न गोप्य भेलाले संसदीय दलको निर्वाचनमा आफ्नो जाडदार उपस्थिति जनाउने निर्णय गरेको छ ।
राजधानीको याक पाटी प्यालेसमा भएको भेलामा सहभागी ४ दर्जन बढी सांसदहरुको भेलाले संसदीय दलको नेताको उम्मेदवार वरिष्ठ नेता पौडेललाई अगाडि बढाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
‘दलको नेतामा सभापति शेरबहादुर देउवालाई सर्वसम्मत हुन दिनुहुँदैन भन्ने विषयमा आजको भेलाले सहमति कायम गरेको छ’, भेलामा सहभागी एक सांसदले भने, ‘सभापति देउवासँग नेता पौडेललाई प्रतिस्पर्धामा उतार्ने सहमति भएको छ ।’
पौडेलले पनि संसदीय दलको नेतामा पनि उम्मेदवारी दिने यसअघि मनस्थिति बनाइसकेका छन् ।
कांग्रेसको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार काठमाडौंमा बस्दैछ । सो बैठकहरु बस्नुअघि पौडेल समूहका सांसदले भेला गरी रणनीति तयार पारेका हुन् ।
यसअघि आजै बिहान कांग्रेसका पौडेल निकटका शीर्ष नेताहरुले संसदीय दलको नेता चयन र संसदीय दल तथा कार्यसमितिको बैठकमा कसरी प्रस्तुत हुने भनेर आन्तरिक तयारी समेत गरेका थिए ।













प्रतिक्रिया