काठमाडौं, २१ चैत । निजी शैक्षिक क्षेत्रको छाता संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी र पूर्वअध्यक्ष भोजबहादुर शाहका विद्यालय एकआपसमा समायोजन भएका छन् ।
अध्यक्ष केसीले प्याब्सनका पूर्वअध्यक्ष शाहको आनन्द भूमि हाइस्कुल र प्रेम ओली प्रिन्सिपल रहेको घट्टेकुलोको ब्ल्यू स्काई पब्लिक स्कुललाई सूर्योदय आवासीय माध्यामिक विद्यालयसँग समायोजना गराएका हुन् । यी तीन विद्यालय समायोजन भएपछि ‘एस.ए.बि. पब्लिक स्कुल’ नामाकरण गरिएको छ ।
काठमाडौंको घट्टेकुलोमा रहेको सूर्योदय आवासीय माध्यामिक विद्यालयकै परिषरलाई मुल विद्यालय बनाइएको छ । सोही स्थानबाट सबै भर्नादेखि व्यवस्थापन, पठनपाठन आदिको हुनेछ ।
यद्यपि, यी विद्यालयले आ–आफ्नो प्राइमरी अध्ययन अध्यापन भने आ–आफ्ना भवनमा गराउनेछन् ।
नयाँ शैक्षिक सत्र सुरू हुनै लाग्दा प्याब्सनका अध्यक्ष के.सी.ले गरेको यो थालनीले घाटामा चलिरहेका निजी विद्यालयहरूलाई समायोजन हुन हौसला मिल्ने शिक्षाक्षेत्रका जानकारहरूले बताएका छन् ।
‘धेरैबाट एक र त्यसभित्र मजबुतीको आधार’ खोज्ने सरकारी समायोजन नीतिलाई आत्मसात गरी तीन वटा विद्यालयबीच समायोजन गरिएको एस.ए.बी.का कार्यकारी अध्यक्ष समेत रहेका के.सी.ले बताएका छन् । अब यी तीन विद्यालयको पठन पाठन एउटै स्थानमा हुनेछ ।
तीन वटा विद्यालयको नाम पनि अस्तित्वमा रहे पनि सबै शैक्षिक गतिविधि एकैस्थानबाट हुनेछ । । सो विषयमा जानकारी दिन मंगलबार संयुक्त पत्रकार सम्मेलन पनि राखिएको छ ।
सूर्योदय, ब्ल्यू स्काई र आनन्द भूमिबीच एक वर्षदेखि एकीकरणको प्रयास भइरहेको थियो । यस शैक्षिक सत्रदेखि तीन वटा विद्यालय एकआपसमा मिलेर अगाडि बढ्ने तयारी स्वरुप भर्ना पनि एकै ठाउँबाट सुरुवात भएको विद्यालय व्यवस्थापनले जनाएको छ ।












प्रतिक्रिया