काठमाडौं, १८ चैत । एमालेका सचिव योगेश भट्टराईले बालुवाटारमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालवीच चर्काचर्की भएको भनेर आएका समाचारको खण्डन गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सचिव भट्टराईले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यूसँग वरिष्ठ नेता नेपालको चर्काचर्की भएको होइन, विभाग गठनका विषयमा बहस भएको हो ।’ उहाँले विभागहरू गठन हुँदा पार्टीभित्र स्वच्छ बहस हुनु स्वभाविक रहेको बताउनुभयो ।
सचिव भट्टराईले भन्नुभयो, ‘प्रधानमन्त्री र नेपालवीच चर्काचर्की भएको त्यस्तो मलाई थाहा छैन ।’ विभाग गठनका विषयमा छलफल गर्न बोलाइएको स्थायी समितिको बैठकमा नेता नेपालले प्रधानमन्त्रीको कार्यशैलीको आलोचना भएका समाचार बाहिर आइरहेका बेला सचिव भट्टराईले त्यसको खण्डन गर्नुभएको छ ।
‘माधव कमरेडले विभाग बनाउँदा अलि मिलाउनुपर्छ भन्नुभएको हो’, सचिव भट्टराईले भन्नुभयो, ‘सचिवालयमा त्यस विषयमा अलि ज्यादा होमवर्क गरेका छौँ । अहिले पनि कुरा मिलेको छैन । पक्षपात नहोस् । मापदण्ड सबैलाई एकै होस् भनेर बैठकमा कुरा राखिएको हो ।’
प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले विभागहरूलाई पूर्णता दिने विषयमा अरुसँग मिलाएर ल्याउन बैठकमा निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।
‘अझै मिलाउँछौँ । विभाग बनाउने विषयमा अल्पमत र बहुमत गर्नु हुँदैन’, भट्टराईले स्थायी समितिको बुधबारको बैठकका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘बामदेव गौतम, झलनाथ खनालले पनि पार्टीमा सानातिन कुरामा अल्झिनु हुँदैन भन्नुभएको छ । सबैले मिलेर जानुपर्छ भन्नुभएको छ ।’












प्रतिक्रिया