काठमाडौं, १७ चैत । १३औँ महाधिवेशनमा सभापति पदमा नराम्रोसँग पराजित भएका नेता रामचन्द्र पौडेलले कांग्रेसभित्र गुटको राजनीतिलाई अगाडि बढाएपछि कुरा मिलाउन सभापति शेरबहादुर देउवाले आफ्ना तीन जना विश्वासपात्रलाई वार्ताको जिम्मेवारी दिनुभएको छ ।
सभापति देउवाको निर्देशनअनुसार केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी र पूर्णबहादुर खड्काले पौडेलसँग परामर्श गर्दै हुनुहुन्छ ।
आज यी तीन नेताले पौडेलसँग भेट गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्ने नेताहरूले जनाएको छ ।
वार्ता टोलीका सदस्य गोपालमान श्रेष्ठले नेता पौडेलद्वारा उठाइएको संसदीय दलको विधान संशोधनका विषयमा छलफल गरेर एउटा निकास खोज्ने प्रयास हुने बताउनुभएको छ ।
‘सभापति शेरबहादुर जीले हामी तीन नेतालाई राचन्द्र पौडेलसँग असन्तुष्टिका विषयमा छलफल गर्न जिम्मेवारी दिनुभएको छ’, उहाँले भन्नुभयो, ‘आजै उहाँसँग कुराकानी हुन्छ ।’
स्रोतका अनुसार पौडेलले संसदीय दलको उपनेतामा रामशरण महतलाई प्रस्ताव गरेका छन् । यो प्रस्तावमा पौडेल समूहभित्रै विरोध छ ।
महतलाई उपनेता बनाउने देउवाले पनि अनिच्छा देखाएपछि पौडेल समूहले विभिन्न बखेडा निकाल्न थालेको छ ।
संसदीय दलको निर्वाचनमा पौडेल समूहले सभापति देउवालाई अप्ठेरो बनाउने विभिन्न हत्कन्डा अपनाइ रहेको छ ।












प्रतिक्रिया