काठमाडौं, १६ चैत । सभापतिमा हारेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना पक्षका नेता तथा सांसद बोलाएर संसदीय दलको नेता चयनबारे छलफल गरेका छन् ।
संसदीय दलको नेता छान्न आगामी चैत २४ गते हुने निर्वाचन नजिकिँदै गर्दा सिटौलाले आफ्नै निवासमा मंगलबार आफू नजिकका सांसदहरुसँग छलफल गरेका हुन् । छलफलमा सभापति शेरबहादुर देउवालाई भन्दा रामचन्द्र पौडेल पक्षलाई समर्थन गर्नेगरी अगाडि बढ्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताए ।
छलफलमा सिटौला प्यानलबाट महामन्त्री लडेका मनोनित केन्द्रीय सदस्य गगन थापा, कोषाध्यक्ष लडेका उमाकान्त चौधरी, नेता भीमसेनदास प्रधान, तारामान गुरुङ, अमृतलाल राजवंशी, उषा गुरुङ, चन्द्र महर्जन, मोहन बराल, तप्त विष्ट, भुटनीदेवी खवास, रिता शाहीसहित करिब १ दर्जन सांसदहरुको उपस्थिती थियो ।
के–के भयो छलफल ?
गिरिजाप्रसाद कोइराला र पूर्व सभापति सुशील कोइरालासँग नजिक रहेर संविधान निर्माणको काम गरेका सिटौलाले संस्थापन पक्षकै नेता तथा कार्यकर्ताको संरक्षण गरी अगाडि बढ्ने आश्वासन सहभागीलाई दिएका थिए । यसविषयमा अर्काे बैठकबाट निर्णय लिइने सहमति भएको छ ।
छलफलमा युवा नेता गगन थापाले विचारका आधारमा समूहहरु बन्ने र भत्कने बताउँदै नेता गिरिजाप्रसाद कोइरालाले शुरु गरेर सुशील कोइरालाले सफलता पूर्वक निर्माण गरेको नयाँ संविधान र त्यसले अघि सारेको परिवर्तनको मुद्दालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताए ।













प्रतिक्रिया