
काठमाडौं । मरुभुमीलाई माटो बनाएर केही रकम आर्जनको बाहनाले हाम्रो माटो मरुभुमी भएको तथ्यलाई कति गहिरोसँग विश्लेषण गरिरहेका छौं ? त्यो भन्दापनि खास कुरोचाँही विग्रिरहेको हाम्रो सामाजिक संरचना र कमजोर बनिरहेको रीति र संस्कृतिका विषयमा हामी कति गम्भिर भइरहेका छौं ? परजीविका रुपमा स्थापित हुन लागेका छौं, हामी । मुलुक परनिर्भरतामा बनिरहेको छ र हामी मरुभुमीलाई आत्मनिर्भरसहितको सम्पन्न बनाउनका लागि खटिइरहेका छौं । यो तथ्यसँग हामी नजिक हुन किन सकिरहेका छैनौं ?
त्यतिमात्र होइन, मुुलुकको अर्को तस्बिर पनि भयानक छ । ‘भीआइपी कमिङ’ –सहरको दुख बनेको छ । भीआइपी नदेख्नु गाउँको पीडा । आशा र अपेक्षाले भरिपूर्ण छ, गाउँ । अनि, भ्रष्टाचार र महँगीको मारमा भीआइपी ह्यांगोभरमा विक्षिप्त छ, सहर । यी दुवै पीडाको महासागर बोकेर मुलुक दैनिक विश्ववजारमा कमजोर र गरिब बनिरहेको छ । हामी गरिबीबीचमा अनेक किसिमका राष्ट्रियताको ठेस लागेर दैनिक लडिरहेका छौं । शरिर हे¥यो घाउ छैन, आत्मामा चोट लागिरहेको छ । जहाँ चोट लागेको छ, ती आत्माहरु न्यायको खोजी गरिरहेका छन्, नवसामन्तीहरुको राज्य सञ्चालन विधिले मुलुक चारैतिरबाट डामिएको छ, ती चोटहरु पनि नागरिकमा देखिन्छन् ।
यो यथार्थ हो, आफ्नो मुलुक बनाउने बेला युवाहरु मरुभुमीको देशमा श्रम खर्चिरहेका छन् । अनि, भुल्नै नसकिने पीडाचाँही गणतन्त्रको नाममा उर्जाशिल हातहरु वेपत्ता, विरगती या सहादत प्राप्त गरेर सक्किए । शव्द र भाषा जे भनेपनि तिनीहरु मुलुकको दुखबाट उम्किए, हराए र विलिन भए ।
युद्धले मुलुकका उर्जाहरुको अन्त्य गरायो । युद्धको उपलव्धि कसैले देख्न पायो भने जम्मा ६०१ जनाले पाए होला । त्यसमध्येमा पनि राजनीतिक पार्टीको हैसियतका आधारमा संविधानसभा र सरकार चलाउनेहरु पाएका थिए । तर, गाउँहरु अहिलेपनि खाली छन् । विकासका नाराहरु सुनेको छ, गाउँले । राष्ट्रियताको सवाल सुनेको छ, गाउँले । तर जतिवेला यथार्थ अगाडी आउँछ चोटहरु फेरि बल्झिन्छन् । नवलपरासीका सुस्ताहरु सुस्केरादिन्छन् हराइरहेका दशगजाका स्तम्भहरु रुन थाल्छन् । अनि, काठमाडौंका सडकमा नागरिकलाई बाटो छेकेर हुइँकिने भिआइपीहरुसँग प्रश्न गर्छन्– के यो मेरो जन्मभूमि हो ? के यो मेरो माटोको यथार्थ यहि हो ?
जुन दरमा युवाहरु मुलुकबाट पलायन हुने क्रम छ, यसको निरन्तरताले जन्माउने गाउँको कथा भयानक हुनेछ । यसले देखाउने संकेत असामान्य छ । यसले पार्ने प्रभाव असोचनिय छ । गाउँमा महिला र बृद्धहरुमात्र हुनेछन्, गाउँमा युवाहरुको रोजगारीको पैसा केही प्रतिशतमा आउनेछ तर त्यसले मुलुकको हित भन्दा पनि मुलुकको विकासमा प्रभाव पार्ने निश्चितप्रायः छ । यस्तो यथार्थ शव्दचित्रबाट अति कमैमात्र विश्लेषण गरिएको पाइन्छ ।
उल्लिखित विषयको सामान्यीकरण गर्दै आम मानिसले बुझ्नेगरी मुलुकको हरपाटोको दुखलाई ब्युँझाउने काम गरेको छ, चलचित्र जन्मभूमीले । यसले दिन खोजेको सन्देश मुलुकको राष्ट्रियता, युद्धले पिल्सिएको बस्तीकोमात्र छैन, त्यसले प्रभाव पारेको हर पाटोको यथार्थपरक चित्रण छ । जन्मभूमि १९ चैतमा रिलिज हुँदैछ । महाभूकम्पका कारण अघिल्लो वर्ष रिलिज हुन नसकेको यो फिल्म निर्माता/निर्देशक तथा कलाकार मोहन निरौलाको जन्मदिन पारेरै रिलिज हुन लागेको हो ।
आजको पुस्तामा एउटा थेगो राखिदिएको छ, विद्या बालन अभिनित चलचित्र दी डर्टी पिक्चरले – फिल्म जम्मा तीन कुराले चल्छ, इन्टरनेनमेन्ट, इन्टरनेनमेन्ट र इन्टरनेनमेन्ट । तर, त्यो फिल्म चल्ने कुरा हो । यहाँ फिल्मले मुलुकको संयन्त्रलाई झस्काउने सवाल प्राथमिकतामा हुनुपर्छ । फिल्म अब इन्फोरटेन्मेन्टले चल्नुपर्छ भन्ने मान्यताको विकास हुनुपर्छ । कतिपय सन्देशहरु कथाका माध्यमबाट फिल्मले दर्शाउँदा त्यसलाई एउटा फिल्मका रुपमा मात्र चित्रण गरेर बुझ्नु अनुपयुक्त हुनेछ । त्यो चित्रणका रुपमा आफ्नो भुमिको पीडा बोकेर आएको सन्देश लिनुपर्ने हुन्छ, मुलुकप्रतिको चिन्तनमा आधारित चलचित्र हिट नभए पनि जीवन्त बनेको हुन्छ, ती फिल्महरु दर्शकका लागिमात्र होइन, मुलुकका लागि सन्देशपरक हुन्छन् । वास्तवमा राष्ट्रभक्तिको सवाल अहिले ओइल्याउन थालेको छ । मुलुकको चिन्ता कम हुन थालेको छ । ग्रामिण बस्तिहरुमा महिलाहरुमात्र देखिन्छन्, यसले समाज सन्तुलन गुमाइरहेको छ । असन्तुलित समाज, असन्तुलित राष्ट्र र चारैतिरबाट हस्तक्षेपको शिकार भइरहेको मुलुकको वेदना, चोट अति सामान्य जनतालाई बुझाउने तरिका फिल्म नै हो । युवाहरु मुलुकबाट पलायनका दिशामा उन्मुख छन् ।
नेपाली समाजको तस्बिर फरक भइसकेको छ । विकासका हिसावमा फरक भएको होइन, हामी अझै धेरै शताव्दिपछिको दुखमा छौं । विश्वमा सँगै रहेका मुलुकहरु विकासको नारा बोकेर शक्तिशाली बनिसकेका छन् । तर, हामी जहाँको त्यहिँ, किन ? खराब राजनीति, युद्धको पीडा, त्यसले निम्त्याएको डोब र अलमल अवस्थामा रहेको राजनीति यसका मुख्य कारण हुन् । यी कारणले उव्जाएको वेरोजगारीे पीडाको विकल्पका लागि युवाको पलायनजस्ता समस्या । यसले कस्तो परिवर्तन भयो ? सामाजिक संरचनामा कति परिवर्तन आएको छ, त्यसको तस्बिर अव आम नागरिकले बुझ्नैपर्ने बेला आइसकेको छ ।
दुई दशकको अन्तरालमा आफ्नो भुमीको यथार्थ के भयो ? राष्ट्रियताको सवालमा कुन ठाउँमा रहेको देश कहाँ पुग्यो ? मुलुकभित्र रोजगारीको सृजनामात्र खोज्दै गरेका युवाहरु कहाँ पुगे ? यी अनेक यथार्थसँग नजिक रहेका मोहन निरौला आफैंले फेरि जन्मभूमिको कथा लेखे र लोकलाई नेपाली समाजको अहिलेको तस्बिर देखाउनका लागि चलचित्रको मार्ग तय गरे । जवकी, उनले दुई शताव्दि अघि पनि जन्मभूमि बनाएका थिए । यी प्रखर चलचित्रकर्मी कहिलेकाँही अनौपचारिक कुराकानीका क्रममा भन्ने गर्छन्, चलचित्रले सन्देश दिनुपर्छ । दुई दशकका बीचमा निक्कै फिल्महरु नेपालीबजारमा आए तर एक या दुई बाहेकका चलचित्रले राष्ट्रियता, जनजीविका र मुलुकको अवस्थालाई चित्रण गरी चिन्तित बनाउन सकेका छैनन् ।
नेपालमा हिट भनेको पैसा कमाउने फिल्मलाई मान्न थालिएको छ । तर, फिल्म त्यो हिट हो जसले राष्ट्रभक्ति र राज्यको समस्याको विषयमा दूरदर्शी विषयबस्तुलाई समेट्न सकेको हुन्छ । जन्मभूमि त्यहि कथामा आधारित फिल्म हो, जहाँ नेपालीले राष्ट्रियताको विषयमा आवाज उठाउँदा नाकाबन्दिको मार खेप्नुपर्छ भन्ने विषयबस्तुलाई दुई वर्ष अगाडी नै निर्देशक मोहन निरौलाले राखिसकेका थिए । तर, भूकम्पका कारण रिलिज रोकिएको फिल्मले उठाएको विषयबस्तुलाई नेपालीले कष्टपूर्ण रुपमा विताए ।
‘मैले फिल्म पैसा कमाउनका लागि बनाएको होइन, मेरो फिल्मयात्राको निरन्तरताको एउटा राष्ट्रवादी कथाको उन्नयन गर्ने प्रयत्न हो’, निर्देशक निरौला भन्छन्,‘विषयबस्तुलाई उठाएको हुँ ।’ राष्ट्रियतलाई जहिले पनि शिरमा राखेर फिल्म निर्माण गर्ने निरौलाले २० वर्ष अघि बनाएको पहिलो जन्मभूमिको रिलिज भएका बेला भारतीय समर्थकहरुले उनलाई धम्क्याएका थिए । अहिले पनि जन्मभूमिमा राष्ट्रियताको सवाल उठाएका निरौलालाई फेरि पनि धम्की नआउला भन्ने ठाउँ छैन । पहिलो पटक संस्कृत गीतको समावेश गरी निर्माण गरिएको फिल्मले नेपाली नारीको कथा र व्यथा अनि जिम्मेबारीलाई पनि बोकेको छ । विनोद श्रेष्ठ, निश्मा घिमिरे, ओम प्रतिकलगायत अभिनित फिल्मलाई बौद्धिक रुपमा प्रस्तुत गर्ने निरौलाको योजना छ ।















प्रतिक्रिया